स्मृतिका बाछिटाहरु

साउन २८, २०७७     थम्मन निर्दोषी बस्नेत



आखिर स्मृतिका बाछिटाहरुमा चुर्लुम्म डुबे पनि जिउनलाई न हिजोले छाया बनेर भरोसा दिलाउदो रहेछ न भोलिले कुनै ठोस आकृति धारण गरेर मार्ग दर्शनका साथ निर्धक्क गर्दोरहेछ। वर्तमानले अतीत र भविष्यलाई दरिलो पुल बनेर जोड्ने कोसिस गर्दागर्दै वर्तमान आफै अतीत बनी पछ्याउदोरहेछ। जिवन यादै यादहरुको हुलमा बाचिरहेको रहस्य पो रहेछ। जीवन भित्रको रहस्यलाई खोयलेर हेर्दा हामी न वर्तमान न त भविष्यमा बाचेका रहेछौं। हामी  त केवल स्मृतिमा अल्झिएर पो बाचेका रहेछौं। हामी सबैको बर्तमान जिन्दगी स्मृतिले भरिएको एलबमको पत्रै पत्र त रहेछ। जिवनको यथार्थ केलाउने हो भने हामीले कुनै पनि योजना वा कल्पना गरी सक्दा नसक्दै, इच्छा आकाङ्क्षा राखी सक्दा नसक्दै अतितले पिछा गर्न थालिसकेको हुन्छ र हाम्रा प्रयासहरुलाई अतितमा रूपान्तरित गर्न सुरु गरिसकेको हुन्छ।यादहरु पनि बिछ्ट्टका हुदारहेछ्न। न त यी यादहरुको सहयोगले बितेका पलहरु फिर्ता ल्याउन सकिने न त रङ्गीन वर्तमानलाई एकै ठाउँमा रोकेर बाच्न सकिने न सम्पुर्ण यादहरुलाई चटक्क बिर्सिएर आनन्दले भविष्यको काखमा निदाउन पाउने। यस्तो अनौठा अतितका यादहरुले हामीहरुले गुजारेका प्रत्येक सेकेन्ड अनि मिलि सेकेन्डहरुका घटनाहरुलाई छाटकाट गरेर किन राखेका होलान।

हृदयको पाना पाना केलाउदा पनि आफ्नो जीवनमा भेटिएका सबै साथ अनि साथीहरु, त्यो बेला मनमा उब्जिएका भावना रूपी तरङ्गहरु अनि विविध परिस्थितिमा बिताएका एक एक पलहरु छर्लङ्ग ऐनामा देखिए झै देखिदारहेनछ्न।

स्मृतिमा पनि कतै कतै खिया लागेछ क्यारे लाख कोसिस गर्दा पनि आफ्नै सृष्टिकर्ता आमाको न्यानो काखमा लुटपुटिएर खेलेको दृश्य आखामा ल्याउनै सकेन। पिडाले भतभती पोल्दा पनि यस्ता भुल्नै नहुने क्षणहरु  सम्झनामा आउँदा रहेनछ्न। केही साथ र साथिहरु मात्र प्रतिनिधि पात्रहरूको रुपमा स्मृतिका निस्साहरु बनिदिदा रहेछ्न। मेरो मगजले भ्याए सम्म एक जना साथी पनि भुल्न खोजेको छैन। परन्तु अतितको यादै यादले सजाएको एलबममा उनीहरुको आकृति भेट्टाउन नसक्दा छट्पटी लागिरहेको छ। बिस्मरणको भारले बेसरी थिलो थिलो हुने गरी थिचेको आभास भैरहेकोछ।

  मैले उनिहरुलाई कहिले, कहाँ र कुन अवस्थामा  भेटेको सम्म पनि संकेत पाएको छैन। जिवनमा अविस्मरणीय होस वा बिस्मरणिय कुनै पनि घटनाहरु मानिसले जानाजान भुल्न सक्दैन। समयको बहावले हो वा नियतीको दुस्चक्रले मानिसलाई भुल्नै नहुने क्षणहरु पनि भुलाएर अन्याय गरिरहेको हुन्छ।

सायद जिन्दगीको परिभाषा भित्र कुन्ठित जिन्दगी भनेको यही पो हो कि।हाम्रा अगाडी आउने तमाम आज सङ्ग पैठे जोरी खेल्दै अघि बढ्नु नै जिन्दगीको परिभाषा रहेछ।

यसरी जिन्दगीको खुला आकाशमा आजलाई अङ्कमाल गरी अतृप्त चाहना र अङ्कुराउनु पुर्व मरेका इच्छाहरुको माझमा  मुस्कानको आधी ल्याएर बाच्नु नै वास्तविकताको जालोमा बेरिएर यादहरुको सकसमा जीउँदै ढल्किरहेको उमेरमा जवानीको ताजगीले सिञ्चित गर्नु नै सफल जिन्दगी रहेछ। भुत र भविष्यको दोसाँधमा रहेको वर्तमानको काखमा लुटपुटिएर भत्किन लागेको जवानिलाई अनिच्छित  बुढेसकालको आगमनले झपक्क छोप्दा निसास्सिने रहेछ जिन्दगी। छिप्पिएको तनले पनि यौवनले उर्लिएका तरुण मनहरु सङ्गको सामिप्यतामा वर्तमानलाई अस्विकार गर्दै  अतितलाई अङ्कमाल गरेको अनुभुती गर्दोरहेछ।

बितेका हरेक पलहरुले लतपतिएका मेरा स्मृतिको बाछिटाहरुले पोतिएर छिर्केमिर्के बनेका  रङ्गिन सपनाहरुले मेरो वर्तमानलाई इमोसनल ब्ल्याक मेल गर्दै मलाई लडाइरहेकाछ्न। उठ्दै, समालिदै,  उठ्दै, समालिदै मेरो वर्तमानलाई तहसनहस हुन नदिन निरन्तर मेरा स्मृतिका बाछिटाहरु सङ्ग युद्ध गरिरहेक छु। भविष्यलाई बदल्ने योजनाकार बन्न लालायित छैन। वर्तमानलाई स्विकारेर रमाउन सक्ने सामर्थ्य गुमाइसकेको छु। संसारकै सारा शक्ति लगाएर पनि अतितलाई बद्ल्न सक्ने तागत र विधि भेट्टाउन सकिरहेको छैन। अतितलाई गर्ल्याम्म अङ्गालो हालेर वर्तमानको कुरुपतालाई लत्याउने बल कहाँ बाट खोज्ने अन्योलको भुमरीमा चक्कर लगाईरहेको छु। बिस्मरणको शक्तिशाली हतियारले पनि पिछा छुटाउन नसकेका मेरा यादहरु नशा नशामा सलवलाउदै बदल्नै नसकिने स्मृतिका पानाहरुमा चलचित्र झै पदार्पण भएका छ्न। त्यही अतितलाई भुल्नै नसकेर एक्लै बन्द कोठाका भित्ताहरुमा झुन्डाइएका तस्बिरहरु भित्र अतितलाई खोतल्दै वर्तमानको प्राकृतिक आगमनलाई भव्य स्वागत गर्ने ब्यर्थैको कोसिसमा पुनः उठेर बामे सर्दैछु।