बन्द मात्रै होइन, सिनेमा हल निर्माण पनि हुँदै छन्

भदौ ०५, २०७८     नरेश फुयाल


कोरोना संक्रमणको त्रासका कारण सिनेमा हलहरू बन्द भइरहँदा निर्माण पनि भइरहेका छन् । चलचित्र संघको तथ्यांकानुसार कोरोना संक्रमणको त्रास सुरु भएयता २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । तर, यही समय चलचित्र घरहरू निर्माण पनि भइरहेका छन् ।

काठमाडौंमा मात्रै आधार दर्जन सिनेमा हल निर्माण भइरहेका छन् । बानेश्वर, कालीमाटी, कीर्तिपुरलगायत ठाउँमा सिनेमा हलहरू निर्माण भइरहेका छन् ।

बानेश्वरको आइपेक्स महलमा एउटा स्क्रिन निर्माण भइरहेको छ भने बानेश्वर–शंखमूल रोडमा ४०० सिट क्षमताको दुईवटा स्क्रिन निर्माणको चरणमा रहेको छ । हास्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले यो हल निर्माण सुरु गरेका छन् । नयाँ वर्षमा चलचित्र निर्माणका लागि यो हल तयार हुनेछ । दीपकका अनुसार दुईवटा स्क्रिनका लागि करिब नौ करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको छ ।

यस्तै, कीर्तिपुरमा पनि एउटा सिनेमा हल तयार भइसकेको छ भने कालीमाटीमा पनि हल बन्दै छ ।

पोखरा, दमौली, नेपालगन्जमा (तीनवटा स्क्रिन)का हल निर्माण भइरहेका नेपाल चलचित्र संघले जनाएको छ । संघका महासचिव अशोक शर्माका अनुसार यी निर्माणाधीन अवस्थामा रहेका हल हुन् । यदि, कोभिड–१९ संक्रमणको त्रास नभइदिएको भए अहिले ठूलो संख्यामा सिनेमा हल निर्माण भइसकेको हुने शर्माको भनाइ छ ।

“बालाजुमा मात्रै ६ वटा सिनेमा हल नर्माण हुँदै थिए । काठमाडौंकै अरू  ठाउँमा पनि हल निर्माणका प्रोजेक्टहरू थिए,” उनी भन्छन्, “तर, हल खोल्ने तयारी गरेका अधिकांश प्रोजेक्टर अहिले पर्ख र हेरको रणनीतिमा छन् । बजार चाँडै सामान्य भएर गए प्रोजेक्ट अगाडि बढ्नेछन्, अन्यथा यसै भन्न सकिन्न ।”

काठमाडौंबाहिर पनि ठूलो संख्यामा चलचित्र घरहरू निर्माणको तयारीमा थिए । ठूला सिटीहरूमा महलहरू बनिरहेका र ती महलमा सिनेमा घर निर्माण हुनेक्रम सुरु भएको तर कोरोनाका कारण रोकिएको उनको भनाइ छ ।

यद्यपि, सिनेमा हल खुल्नेभन्दा पनि बन्द हुनेक्रम नै धेरै रहेको उनी बताउँछन् । खुल्दै गरेका सिनेमा हलले बन्द भएका सिनेमा हलको सिट रिकभर नहुने उनको दाबी छ । २८ वटा सिनेमा हल बन्द हुँदा प्रतिशो सात हजार सिट निर्माताले गुमाउनुपर्नेछ ।

यता, निर्देशक दीपेन्द्र के खनाल भने हल बन्द हुने क्रमसँगै निर्माण पनि भइरहेकाले आत्तिनु नपर्ने बताउँछन् । काठमाडौंसहित देशका धेरै ठाउँमा हलहरू निर्माणको काम भइरहेको र यसले थप तीव्रता पाउनेमा उनी आशावादी छन् ।

“ठूला सिटीहरूमा महल खोल्ने लहर चलेको छ । र, त्यस्ता महलका टप फ्लोरमा सिनेमा हल खोल्ने प्रचलन सुरु भएको छ । त्यसैले अब ठूला महलमा व्यापारिक हिसाबले पनि फिल्म हल खोलिनेछ,” खनाल भन्छन्, “अहिले बन्द भएका हलहरू प्रायः प्रतिस्पर्धा गर्न नसक्ने सिंगल थिएटरहरू नै हुन् । अहिलेको महँगो जमिन ओगटेर सिंगल थिएटर अब रन हुन सक्तैनन् ।” यही कारण सिंगल थिएटर विस्तारै बन्द हुँदै जाने र मल्टिप्लेक्स थपिँदै जाने उनको दाबी छ ।

एउटा सिनेमा हल निर्माण गर्न औसतमा ६ करोड रुपैयाँ लाग्छ ।

चलचित्र विकास बोर्डले सिनेमा घर निर्माण हुने क्रम पनि तीव्र रूपमा अगाडि बढिरहेको जनाएको छ । केही सिनेमा हल बन्द भए पनि निर्माणको क्रम पनि तीव्र रहेको विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन् ।

“हामीसँग सिनेमा हल बन्द भएको आधिकारिक तथ्यांक त आएको छैन । तर, निश्चय पनि केही हल बन्द भइरहेका छन् । बन्द भइरहेकै अनुपातमा बनिरहेका पनि छन्,” अध्यक्ष दाहाल भन्छन्, “काठमाडौंलगायत देशका धेरै ठाउँमा हल बनिरहेका छन् । कति ठाउँमा बन्द भएका भनिएका हल नयाँ स्वरूपमा निर्माण हुने कुरा पनि छ । काठमाडौंमा नै रञ्जना, गंगा र सिद्धार्थ हल पनि निर्माण हुने भन्ने सुनेको छु ।”

बन्द भएका हलहरूको ‘रिकभर’ निर्माण भएका नयाँ सिनेमा घरले गर्ने उनको दाबी छ । ठूला महलमा सिनेमा घर बनाउने प्रचलन बढ्दै गएकाले अपटेड हुने क्रममा सिंगल थिएटर केही समयका लागि बन्द भएको दाहाल बताउँछन् ।

रञ्जनामा तीनवटा स्क्रिन निर्माण केही समयका लागि रोकिए पनि अवस्था सहज भएपछि सुरु गर्ने निर्माता तथा हल सञ्चालक नरेन्द्र महर्जन बताउँछन् । भैरहवा र धनगढीमा पनि हल निर्माणको चरणमा रहेको उनले बताए ।

“कोरोनाको त्रास नभइदिएको भए अहिलेसम्म अधिकांश ठूला सहरमा सिनेमा हल बनिसकेका हुन्थे । अहिले बन्द भएका हल निर्माण भएका नयाँ हलले कभर गर्छन्,” नरेन्द्र भन्छन्, “धेरै जमिन ओगटेर अब हल सम्भव छैन । त्यसैले महलमा हल बन्नुको विकल्प छैन । अहिले भइरहेको त्यही नै हो ।” बाह्रखरीबाट…