मन्त्रिमण्डल विस्तारको तयारीमा सत्ता गठबन्धन, बिहीबारसम्म पूर्णता दिने तयारी
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि सत्ता गठबन्धनका पाँच दल मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्यमा जुटेका छन् ।
खासगरी, जसपा र नेकपा (एकीकृत समाजवादी)ले आफ्नातर्फबाट मन्त्री बन्ने नेताको नाम टुंगो लगाउन गृहकार्य थालेका छन् ।
सरकारमा हाल कांग्रेस र माओवादी केन्द्रका पाँच मन्त्रीले आ–आफ्नो पार्टीको प्रतिनिधित्व गरिरहेका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका छन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा माओवादी केन्द्रको कोटाबाट मन्त्रिपरिषदमा सहभागी छन् ।
जसपा र एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउन बाँकी छ । सत्ता गठबन्धनको दल राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नभई बाहिरै बसेर समर्थन गर्ने बताएको छ ।
एक जसपा नेताका अनुसार सकेसम्म पाँच मन्त्री र एक राज्यमन्त्री दाबी गर्ने तयारीमा उक्त पार्टी छ । एकीकृत समाजवादी पनि पाँच मन्त्री र एक राज्यमन्त्रीको दाबी गर्ने तयारीमा रहेको उक्त पार्टीका एक नेताले जानकारी दिए ।
एक–एकवटा ठूला मन्त्रालयसहित सरकारमा भागबन्डा खोज्ने योजना जसपा र एकीकृत समाजवादीको देखिन्छ । ठूला दल भएको नाताबाट कांग्रेस र माओवादी केन्द्रलाई एक–एकवटा बढी मन्त्रालय दिनुपर्नेमा जसपा र एकीकृत समाजवादीका नेताहरू सहमत देखिन्छन् ।
एक कांग्रेस नेताका अनुसार मंगलबार साँझ पाँच दलको बैठक बसेर मन्त्रालयको भागबण्डा टुंग्याउने योजना छ । त्यसपछि बुधबार साँझ या बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना रहेको उनले बताए ।
‘हालसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्नुको एक मात्र कारण राजनीतिक दलसम्बन्धी अध्यादेश थियो । अध्यादेश खारेज भएपछि बाटो खुलेको छ,’ ती कांग्रेस नेताले भने, ‘मन्त्रालय भागबण्डामा धेरै ठूलो समस्या छैन । त्यसैले बिहीबारसम्ममा मन्त्रिपरिषद विस्तार भइसक्ने सम्भावना छ ।’






