आज मन्त्रिपरिषद् विस्तार हुँदै, अपराह्न ४ बजे शपथ ग्रहण

असोज २२, २०७८


असोज २२, आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ । बिहान मन्त्रिपरिषद् विस्तार गरेर अपराह्न शपथ ग्रहणको कार्यक्रम रहेको छ ।सत्तारुढ गठबन्धनबीच बिहीबार भएको सहमति अनुसार आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट आज मन्त्री नियुक्त गर्न लागेका हुन् ।

सबै दलले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लगाइसकेका छन् । माओवादीले बुधबार नै मन्त्रीको टुंगो लगाएको थियो । अन्य दलले पनि नाम टुंगो लगाएको भए पनि गोप्य राखेका छन् । सत्तारुढ गठबन्धन दलका नेताहरुले मन्त्रीको नाम दिए लगत्तै आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी रहेको छ । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति भवन शीतलनिवासमा अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तय गरिएको छ।