स्वेदश फर्कियो साफ उपविजेता नेपाली टिम, विमानस्थलमा भव्य स्वागत

कार्तिक ०१, २०७८


कार्तिक १, साफ च्याम्पियनसिप २०२१ को उपविजेता बनेको नेपाली फुटबल टिम सोमबार विहान स्वदेश फर्किएको छ । माल्दिभ्सबाट स्वदेश फर्किएको नेपाली टिमको स्वागतका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज विमानस्थल पुगेका थिए । नेपाली टिमलाई ब्यान्ड बाजा बजाएर स्वागत गरिएको थियो ।

एन्फाका पदाधिकारी तथा फुटबल प्रेमी पनि स्वागतका लागि उपस्थित थिए । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने परिवार सँग छुट्टी मनाउन कुवेत गएका छन् । अलमुताइरीले नेपालसँगको सम्झौता थप गर्ने विषयमा छुट्टी मनाएपछि विचार गर्ने बताएका छन् । यस्तै नेपाली टिमका खेलाडी रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया गएका छन् ।

रोहित इन्डोनेसियाको लिग-१ क्लब पेर्सिजा जाकर्तामा आबद्ध छन् । साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । फाइनलमा भने भारतसँग ३/० ले पराजित हुँदा नेपाल उपविजेतामै सीमित बन्न परेको थियो ।