अरुबेला हिन्दी फिल्मको बिरोध गर्ने निर्माता अहिले हिन्दी फिल्मकै भरमा
मनोरञ्जनको ग्यारेन्टीभए फिल्म चल्ने ‘सूर्यवंशी’ को सन्देश
लामो समय देखी ठप्प भएको फिल्म क्षेत्र केही समय देखी चलायमान नै देखिएको छ । फिल्म हल चलायमान भएपनि दर्शकको आगमन हेर्दा चाँहि निराशजनक नै बन्यो । दर्शकले हेर्न चाहेको फिल्म रिलिज गर्न निर्माता डराए । फिल्म रिलिज डेट लिन निर्माता निर्देशकले राम्रै पापड पेल्नु पथ्र्यो । यो वर्ष भने कुनै पनि निर्माता निर्देशकले दसैँमा फिल्म हलमा लगाउने आँट गर्न सकेनन् । उनीहरूले भने, ‘दर्शक हलसम्म आउँने वातावरण बनिसकेको छैन ।’
उनीहरुको यो तर्कलाई बलिउड फिल्म ‘सूर्यवंशी’ले हावा खुवाएको छ । तिहारको अवसर पारेर प्रदर्शन भएको फिल्म हेर्न हलमा दर्शकको निक्कै बाक्लो उपस्थिति रहेको छ । कयौं ‘सो’ मा दर्शक टिकट नपाएर फर्किएका छन् । लामो समयदेखि सुनसान नेपाली सिनेमा घरको रौनक ‘सूर्यवंशी’ ले फर्काइदिएको छ । चलचित्र पारखीहरू भन्न थालेका छन्, ‘फिल्म राम्रो हुनुपर्छ, दर्शक आउँछन् ।’चलचित्र संघ र चलचित्र विकास बोर्डले दिएको विभिन्न सुविधालाई समेत वास्ता नगरी उनीहरु करोडौंको लगानी जोखिममा नपार्ने अडानमा बसे । अर्थात् कोरोनापछि दर्शक ओटीटी प्लेटफर्ममा आकर्षित भएको, हल जान डराएको लगायतका तर्क पेश गर्दै निर्माताहरु खुम्चिएरै बसे । निर्देशक शोभित बस्नेतले ‘डाँडाको वरपीपल’ रिलिज गरेपनि त्यो बक्स अफिसमा लागि पर्याप्त बनेन ।
कोरोना माहामारीको कारण सबै क्षेत्र अस्वयस्त नै बन्यो फिल्म क्षेत्र पनि अछुतो भने रहेन । लगभग डेड÷दुई वर्ष ओझेल परेको फिल्म क्षेत्र दशैंबाट भने चहलपहल हुन थालेको छ । फिल्म डाडाँको बरपिपल हल भरी प्रर्दशनमा आयो तर दर्शक भने आएनन् । फिल्म हललमा दर्शकको उपस्थिति देखेर निर्माता र वितरक दुबै अक्मकाए । हल खुलेदेखि नै दर्शकको खडेरी खेप्दै आएका फिल्म हलले थोरै मात्रामा आशा जगाएका छन् । अपेक्षाअनुरुपमा नै बलिउड फिल्म ‘सूर्यवंशी’ले दर्शक हलसम्म बोलाउन सफल भएपछि सिनेमाघर सञ्चालकले राहत महसुस गरेका हुन् ।
अरु बेलामा हिन्दी चलचित्रले नेपाली चलचित्रमाथि थिचोमिचो गर्यो भनेर चर्को बोली बोलेपनि यसपटक सबैजसो निर्माता हिन्दी चलचित्रकै आशमा बसे । अघिपछि सधै जसो हिन्दी चलचित्रकै डरमा बस्ने निर्माता निर्देशकहरु यसपालि भने त्यहि हिन्दी फिल्मकै भरमा बस्नुपर्ने बाध्यता भयो । अनुकुल समयमा हिन्दि फिल्मको डर, प्रतिकुल समयमा भने हिन्दी फिल्मकै भर हाम्रा निर्माताहरुको नियती जस्तै भयो । तिहारमा रोहित सेट्ठीको निर्देशनमा बनेको चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक तानिदियो भने बल्ल हामी पनि रिलिज गर्छौं भन्ने सोचमा देखिएका थिए निर्माताहरु । तर अहिले भने बलिउड फिल्म ‘सूर्यवंशी’को व्यापारले नेपाली निर्मातालाई हौसला बढेको छ । डेढ वर्षदेखि तयार रहेर पनि फिल्म रिलिज गर्ने हिम्मत जुटाउन नसकेका निर्माताले फिल्म रिलिजको मिति तोक्न थालेका छन् । अहिले ‘सूर्यवंशी’ले भरमार व्यापार गरेपछि धेरै निर्माताहरु आफ्नो फिल्मको रिलिज मिति तोक्न थालेका छन् ।
कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ ।
चलचित्रले एक सातामा १२० करोडको कमाइ गर्ने विश्लेषण गरिएको छ । रोहित सेठ्ठीको निर्देशनमा तयारमा भएको फिल्ममा अक्षय कुमार रर कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । फिल्ममा अजय देवगन र रनवीर सिंहको अतिथि भूमिका रहेको छ । फिल्मले मास इन्टरटेनरको रुपमा समीक्षकबाट तारिफ पाएको थियो । त्योभन्दा बढी फिल्मले दर्शक हलमा बोलाएको भन्दै फिल्मकर्मी र फिल्म पत्रकारले यसको तारिफ गरेका छन् । गोलमाल शृंखलादेखि सिंघमसम्मका सबै फिल्मले सय करोड माथिको व्यापार गर्दै आएका छन् । मनोरञ्जनको ग्यारेन्टि भए फिल्म अझै चल्छ, दर्शकहरु हल सम्म फिल्म हेर्न अझै जान्छन भन्ने गतिलो सन्देश चललित्र ‘सूर्यवंशी’ ले दिएको छ । नेपाली सिनेमा मेकरहरुले राम्रा फिल्म बनाउने र चलाउने हो भने हलको क्रेज अझै उस्तै छ भन्ने झलक ‘सूर्यवंशीले देखाएको छ । ‘सूर्यवंशी’ फिल्म चलेपनि अव नेपाली चलचित्र पनि मज्जाले चल्छ भन्ने अवस्था चाहि अझै आएको छ भनेर भन्न सकिदैन । किनकि फिल्म चल्नका लागि फिल्म राम्रो हुनुपर्ने पहिलो शर्त हो । यदि नेपाली फिल्म रिलिज हुने र फिल्म राम्रो नभए फेरी पनि डाँडाको वर पिपल जस्तै नहोला भनेर भन्न सकिन्न । तसर्थ राम्रो फिल्म भए चल्छ हैन भने फिल्म चलन गाह«ो भन्ने कुरा ‘सूर्यवंशी’ ले प्रमाणित गरिसकेको छ ।
धमाधम प्रदर्शन मिति तोकिँदै
लगभग दुई वर्ष नेपालका चानचुन दुई सय सिनेमा घरमा सन्नाटा छायो । अब सिनेमा हल खुल्छ ? फिल्म प्रदर्शन हुन्छन् ? दर्शकहरु हलसम्म आउँछन् ? यावत् प्रश्नको कुनै ठोस जवाफ थिएन ।
यसबीचमा केही सिनेमा हल त बन्द नै भए । तर, समय सधैं एकनास रहँदैन । कोरोनाको भय घट्दै गयो । जनजीवन सामान्य बन्दै गयो । सिनेमा हलहरु खुल्न थाले । एकाध नेपाली सिनेमा प्रदर्शनमा आए । तर, ती सिनेमाहरुले दर्शकलाई टिकट काउण्टरको लाममा उभ्याउन सकेनन् । यसरी बल्लतल्ल प्रदर्शनमा आएका सिनेमा पनि रित्तै भएपछि फिल्मकर्मीको मुटुमा अझै ढ्याङ्ग्रो बज्न थाल्यो । उनीहरु नराम्ररी हच्किए । र, प्रदर्शनको मुखैमा अड्किएका सिनेमा पनि थन्को लगाइयो ।
यही धर्मर अवस्थामा दक्षिण भारतीय सिनेमामा हिरोको ‘इन्ट्री’ भए जसरी धमाकेदार रुपमा बलिउड फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आयो । अक्षयकुमार स्टारर यस चलचित्रले सिनेमा हलमा दर्शक फर्काइदियो । हल खचाखच हुन थाले ।
अन्ततः नेपाली सिनेकर्मीमा समेत एउटा बेग्लै आशा तरंगित भयो । उनीहरुले सोचे, ‘सिनेमा घरको तलतल मेट्न दर्शक ओइरो लाग्ने रहेछन् ।’ यही सोचेर उनीहरुले आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न थालेका छन् । कतिले उपयुक्त साइत जुराएर आफ्ना चलचित्रको प्रदर्शन मिति घोषणा गरिसकेका छन् भने कति पर्ख र हेरको अवस्थामा छन् ।
अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र ‘चपली हाइट–३’ले गत सोमबार पुस २ का लागि आफ्नो प्रदर्शन मिति तोकेको छ । ‘सूर्यवंशी’ले हलमा माहोल ल्याएसँगै आफूहरुले चलचित्र प्रदर्शन मिति तय गरेको निर्देशक निकेश खड्काले बताएका छन् ।
‘चपली हाइट ३’ले २०७६ को चैत २८ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । तर, कोरोना महामारीका कारण यो चलचित्र सो मितिमा प्रदर्शन हुन सकेको थिएन । ‘चपली हाइट ३’ क्राइम थ्रिलर जनरामा बनेको चलचित्र हो । चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय छ । ‘चपली हाइट’का यसअगाडिका सिरिज सफल मानिन्छन्।‘सूर्यवंशी प्रदर्शनमा आएपछि हलमा माहोल राम्रो देखियो । त्यसले हामीलाई आँट आयो,’ उनले भने, ‘अब एक खालको माहोल बन्छ भन्ने अपेक्षा हो ।’
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले माघ १९ गतेका लागि प्रदर्शन मिति तोकेको छ । निर्देशक सुदर्शन थापाले बिहीबार मात्रै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । ‘कुनै एक चलचित्र मात्र नभई पूरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउछु २’ यही वर्षको माघ १९ मा प्रदर्शन गरिने निर्णय गरेका छौं,’ निर्माता समेत रहेका थापाले फेसबुकमा लेखेका छन् ।
‘म यस्तो गीत गाउँछु २’ कोरोना महामारी अगाडि नै प्रदर्शनका लागि तयार भएको चलचित्र हो । निर्माण टिमले २०७६ फागुन ३० गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसारमा लाखौं खर्च गरिसकेको थियो । तर, कोरोना महामारीका कारण चलचित्र प्रदर्शन हुन सकेन ।
सुदर्शन र नायिका पूजा शर्माको निर्माणमा बनेको चलचित्रमा पूजा र पल शाह मुख्य भूमिकामा छन् । यो प्रेमकथामा निर्माण भएको चलचित्र हो । यसको पहिलो सिरिज सफल मानिएको थियो ।
यसअघि नै केही चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । सुमन पौडेलको लेखन तथा निर्देशनमा तयार चलचित्र ‘ओभरडोज’ले मंसिर १७ गतेलाई प्रदर्शन मिति तोकेको छ ।
चलचित्रमा लागूऔषध र अपराधको कथा देखाउन खोजिएको निर्माणपक्षले जनाएको छ । चलचित्रमा प्रनिशराज पन्त, सविनजंग थापा र वीना श्रेष्ठ लगायतको अभिनय छ ।
यस्तै ऋषिराज आचार्यद्वारा निर्देशित चलचित्र ‘चुरीफुरी’ले दाङमा भएको चलचित्र पत्रकार संघ नेपाल को कार्यक्रममा पुस ९ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । सिनेमा हल खुलेसँगै यस चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । कमेडी विधाको यो चलचित्रमा आचार्यकै लेखन र निर्माण छ ।
चलचित्रमा अभिषेकश्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी लगायतका थुप्रै कलाकारहरुको अभिनय छ । दुई साताअगाडि चलचित्रको शीर्षगीत सार्वजनिक गरिएको थियो ।
चलचित्र ‘लप्पन छप्पन २’ ले दुई महिना अगाडि नै फागुन १३ गतेका लागि प्रदर्शन मिति तय गरेको छ । मुकुन्द भट्टले निदेशन गरेको यो चलचित्र शिवरात्रीको अवसर पारेर रिलिज हुनेछ ।
एक्सन जनरामा निर्माण भएको यो चलचित्र गत वर्षको शिवरात्रीमा प्रदर्शन गर्ने तयारी थियो । तर, कोरोना महामारीका कारण प्रदर्शनमा आउन नसकेको यो चलचित्रले यस वर्षको शिवरात्रीका लागि प्रदर्शन मिति तोकेको हो । चलचित्रमा अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
सुनिलकुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ४’ले चैत २५ मा रिलिज हुने भएको छ । यसअघि यो चलचित्रले भदौ १८ गतेका लागि प्रदर्शन मिति तय गरेको थियो । कोरोना महामारीका कारण निर्धारित मितिमा प्रदर्शन नगरी चलचित्र चैतमा प्रदर्शन गर्ने निर्णय निर्माण टिमले लिएको हो । अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र प्रेमकथामा आधारित छ ।
यसैगरी दीपेन्द्र के. खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ आगामी वर्षको वैशाख ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । छायांकन प्रारम्भ नहुँदै २०७८ को भदौलाई प्रदर्शन मिति तोेकेको चलचित्र निर्धारित मितिमा प्रदर्शनमा आउन सकेन । निर्माण टिमले गत महिना आगामी वैशाखका लागि प्रदर्शन मिति तय गरेको हो । यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सामाजिक कथामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको शीर्ष भूमिका छ । ्
अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ अर्को वर्ष रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतले फिल्मको रिलिज अर्को वर्षमात्र गर्ने बताए । ‘‘प्रकाश’ यो बर्ष रिलिज गर्दैनौ । अर्को वर्षमात्र रिलिज हुन्छ’ निर्देशक राउतले अर्को बर्षको बैशाखमा फिल्म रिलिज हुने बताएका छन् ।