१२–१३ चैतमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, शीर्ष नेतृत्वसँग भेट

फागुन ३०, २०७८


संसद्ले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गरेको एक महिना नपुग्दै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी चैत दोस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसकेकी छिन् । नेपालका लागि चिनियाँ राजदूत यान्छीले प्रमुख दलका शीर्ष नेताहरूलाई १२ देखि १३ चैतसम्म चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने जानकारी दिएकी छिन् । तर, नेपाल र चीन दुवैले भ्रमणको मिति सार्वजनिक गरिसकेका छैनन् । कूटनीतिक च्यानलमार्फत नेपाल सरकारलाई र चिनियाँ राजदूतमार्फत प्रमुख दलका शीर्ष नेतालाई भ्रमणको जानकारी आइसकेको छ ।

नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि चीनबाट आउन लागेका उनी सबैभन्दा उच्च अधिकारी हुन् । चीनका रक्षामन्त्री वेई फङ्गेले १४ मंसिर ०७७ मा भ्रमण गरेयता नेपाल भ्रमण गर्न लागेका वाङ उपल्ला चिनियाँ अधिकारी हुन् । दुई वर्षअघि कोरोना महामारी सुरु भएयता नेपाल भ्रमण गर्न लागेका वाङ दोस्रो चिनियाँ उच्च अधिकारी हुन् ।

परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच गत २ कात्तिकमा एक घन्टा लामो टेलिफोन कुराकानी भएको थियो । दुई परराष्ट्रमन्त्रीबीच पहिलोपटक भेट हुन लागेको हो । गत असोजमा संयुक्त राष्ट्रसंघीय महासभामा चिनियाँ विदेशमन्त्री वाङ सहभागी भएको भए परराष्ट्रमन्त्री खड्का र समकक्षी वाङबीच भेटवार्ता गर्ने तयारी थियो । तर, वाङ महासभामा सहभागी भएनन् ।

नेपालले चिनियाँ असन्तोषमाझ अमेरिकी सहायता परियोजना ९एमसिसी० पारित गरेपछि चिनियाँ विदेशमन्त्री वाङको भ्रमण हुँदै छ । एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विभाजनको सम्मुखमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा विदेशमन्त्री वाङ आइपुग्दै छन् ।नेपालमा एमसिसीका विषयमा अमेरिका र चीनबीच आरोप–प्रत्यारोप चलिरहेका वेला एमसिसी पारित भएपछि चीनले त्यसलाई नोट गरेको भनाइ सार्वजनिक गरेको थियो । चिनियाँ अप्रसन्नताबीच विदेशमन्त्री आउन लागेका छन् । ‘चिनियाँ विदेशमन्त्रीको भ्रमणको तयारी भइरहेको छ, १२ चैतमा आएर १३ चैतमा बाहिरिने गरी कार्यक्रम बनिरहेको छ । सरकारले उनको सुरक्षाको बन्दोबस्तका लागि तयारी थालिसकेको छ । भेटघाटका लागि चिनियाँ राजदूतले शीर्ष नेताहरूसँग समय व्यवस्थापन लगभग गरिसकेको अवस्था छ,’ स्रोतले भन्यो ।

चिनियाँ राजदूत यान्छीले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भ्रमणबारे जानकारी गराइसकेकी छिन् । स्रोतका अनुसार कूटनीतिक च्यानलमार्फत परराष्ट्रमन्त्री खड्कालाई आएको जानकारी प्रधानमन्त्री देउवालाई भइसकेको छ । भेटघाटका कार्यक्रम १२ चैतमा हुने गरी कार्यक्रम तय भएको छ ।

स्टेट काउन्सिलर वाङले नेपाली समकक्षी डा। खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट हुनेछ । वाङसँग एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालले भेटवार्ता गर्ने तय भइसकेको स्रोतले बतायो । परराष्ट्रमन्त्री डा। खड्काको निमन्त्रणामा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण तयारीका क्रममा २२ भदौ ०७६ मा काठमाडौं आएका थिए । चिनियाँ राष्ट्रपति सीले २७ असोज ०७६ मा नेपाल भ्रमण गरेका थिए । त्यसवेला विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा आएका थिए ।

बिआरआई सहकार्यमा ठोस छलफल हुने
चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बिआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीहरूको भनाइ छ । ‘बिआरआई कार्यान्वयन सम्झौताको मस्यौदा नेपालले पठाइसकेको छ, तर चीनबाट जवाफ आउन बाँकी छ,’ एक कूटनीतिक उच्च अधिकारीले भने, ‘नेपालले तीन वर्षअघि नै पठाएका नौ परियोजनामध्ये एउटा पनि बिआरआईअन्तर्गत कार्यान्वयन भएको छैन । नेपाल–चीन सीमापार रेलमार्ग, दमकको औद्योगिक पार्कको प्रगति शून्यप्रायः छ । यस विषयमा विदेशमन्त्रीको भ्रमणमा छलफल हुनेछ ।’