बैशाख १ : अनमोलको स्टारडमको परीक्षा

चैत १६, २०७८


यसमा सन्देह छैन कि अनमोल केसी अहिलेका ‘नम्बर वान’ नायक हुन् । केही वर्षयता उनको नाममा फिल्मको टिकट मात्र होइन, उनको घर अगाडि ठेलामा राखिएको चटपटे पनि विक्री हुन्छ । जन्मजात फिल्मी विरासत बोकेका उनी पिता भुवन केसीको पदचाप पछ्याउँदै कलिलो उमेरमै चम्किलो पर्दाको हिरो बनेका थिए । पहिलो फिल्म ‘होस्टेल’पछि उनी युवापुस्ताका आइडल बने ।    नेपाली फिल्ममा अनमोलको प्रवेशले अभिनेता आर्यन सिग्देलको बलियो साम्राज्य समेत तहसनहस बनायो । नेपाली फिल्मप्रति भड्किएका र लभस्टोरी फिल्मप्रति रुचि हराउँदै गएका दर्शकलाई उनले नयाँ सम्भावना देखाए । ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’ फिल्मबाट स्टारडमको खुड्किलो चढेका उनी अब फिल्म ‘ए मेरो हजुर ४’ बाट दर्शकमाझ पुग्ने तयारीमा छन् ।  

anmol kc

  बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उनको स्टारडमको परीक्षा मानिएको छ । किनकि, यही मितिमा साउथ फिल्म ‘केजीएफ २’ रिलिज हुँदैछ । यो भिडन्त अनमोलको स्टारडम जोख्ने तराजु बन्नेछ । साउथ फिल्मसँग बक्सअफिसमा भिड्न फिल्मको ब्रान्ड र अनमोलको स्टारडम प्रमुख हतियार हो । र, यो लडाइँमा जित हासिल गरे उनले स्टारडमको नयाँ इतिहास लेख्नेछन् ।    गत हप्ता ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज कार्यक्रममा उनलाई पत्रकारले सोधेका थिए, ‘तपाईंलाई आफ्नो स्टारडमा कति घमन्ड छ कि तपाईं ‘केजीएफ २’सँग जुध्न सक्नुहुन्छ ?’ जवाफमा उनी आफ्नो स्टारडमभन्दा पनि दर्शकले नेपाली फिल्मलाई साथ दिनेमा आत्मविश्वासी देखिएका थिए । उनले भनेका थिए, ‘मलाई मेरो स्टारडममा भन्दा पनि मेरो फ्यान र दर्शकको साथमा विश्वास छ ।’   हरेक फिल्ममा अभिनयको आलोचना खेप्दै आएका अनमोलले ‘ए मेरो हजुर ४’को ट्रेलरमा केही सुखद् संकेत देखाएका छन् । ट्रेलर हेर्दा उनको अभिनयमा आंशिक सुधार देखिन्छ । फिल्ममा पनि उनले यो महशुस गराउन सकेको खण्डमा उनीप्रति भड्किएका दर्शकलाई पनि आफ्नो काबुमा बनाउन सक्नेछन् । यसकारण ‘ए मेरो हजुर ४’ उनको करिअरका लागि महत्त्वपूर्ण फिल्म हो ।    झरना थापाको निर्देशनमा बनेको फिल्ममा अनमोलका अलावा सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा सञ्जय लामाको छायांकन, मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।