मासु र कृषि जन्य वस्तुमा बढ्दै गएको खाद्य असुरक्षालाई नियन्त्रण गर्नुपर्छ

जेठ २४, २०७९


तुलसीपुर, २४ जेठ ।

एक कार्यक्रमको आयोजना गरेर तुलसीपुरमा विश्व खाद्य दिवस मनाइएको छ । कार्यक्रमका सहभागीले स्वास्थ्यसंग जोडिएको खाद्य स्वच्छतालाई व्यवहारिक तहमा कार्यान्वयनका लागि खाद्यवस्तु उत्पादन गर्ने किसान, उद्योगी व्यवसायीदेखि उपभोग गर्ने उपभोक्ता सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।

नगर प्रमुख टिकाराम खड्काले स्वास्थ्य सुरक्षाका लागि उत्पादनदेखि नै उपभोगसम्म सबै सचेत हुनसके खाद्य अधिकार सुनिश्चितता गर्न सकिने बताउनुभयो । उहाँले खानेकुराबाट ग्रसित हुनुपरेको बताउँदै नगरप्रमुख खड्काले नयाँ पुस्ताले जैविक उत्पादन र उपभोगलाई जोड दिनुपर्ने बताउनुभयो ।

व्यस्त जीवनशैलीका कारण रसायनयुक्त खाना खानुपरेको र सुधार आवश्यक रहेको उहाँको भनाइ छ । बजारमा आउने विभिन्न खाद्यवस्तु खरिद गर्दा उपभोक्ता सचेत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष केशव कुमार शर्माले सेवा लिदा उपभोक्ता बढी सचेत हुनुपर्ने बताउनुभयो । खाद्य सुरक्षा सुनिश्चिततामा स्थानीय सरकारले पनि चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नीतिगतरूपमा नै उपभोक्ता जागरणलाई प्राथमिक दिनुपर्ने बताउदै उहाँले आवश्यक बजेट विनियोजनमा जोड दिन आग्रह गर्नुभयो । बजारको नियमित अनुगमनले पनि खाद्य अधिकार सुनिश्चितता गर्न सकिनेमा उहाँको जोड छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर प्रमुख उज्ज्वल आचार्यले खाद्य स्वच्छतालाई अझै कार्यालयले काम गरिरहेको बताउदै खाद्य ऐेन २०२३ बमोजिम सचेतना, अनुगमन र निरिक्षण, प्रयोगशाला परिक्षण गरेर खाद्य अधिकार सुनिश्चितता गरिरहेको बताउनुभयो ।

मासु र कृषि जन्य वस्तुमा बढ्दै गएको खाद्य असुरक्षालाई नियन्त्रण आवश्यक रहेको उहाँको भनाइ छ। तुलसीपुर बहुप्राविधिक शिक्षालयका फुड एण्ड डेरीका प्रशिक्षक सुदर्शन गोसाईले अखाद्य वस्तुका कारण स्वास्थ्यमा क्षति पुग्ने गरेको बताउनुभयो ।

उहाँले फ्राई गरेको तेललाई पुन प्रयोगमा ल्याउन नहुने , पत्रपत्रिकाको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने उहाँले बताउनुभयो । उहाँले खानेकुरामा कृतिम रंगको प्रयोग, फुल्कीमा अखाध्य अमिलो प्रयोग बढ्दै गएकाले स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको उल्लेख गर्नुभयो ।

शिक्षालयका प्रमुख बसन्त आचार्यले अस्वस्थकर खानेकुराबाट बच्न सबै सचेत बन्न तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यवसायीलाई उपभोक्ताको खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो ।

नगर उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तुलसीपुर बहुप्राविधिक शिक्षालयको सहकार्यमा तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण शाखा प्रमुख रेखा शर्माले गर्नुभएको हो ।