तुलसीपुरको राप्ती प्रादेशिकमा क्यान्सर र मुटु रोगको उपचार गरिने
तुलसीपुर,२५ जेठ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा क्यान्सर र मुटु रोगको प्रभावकारी उपचारका लागि व्यवस्था मिलाइने भएको छ । प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विशिष्टीकृत अस्पतालहरुसंग समन्वय र सहकार्य गरेर क्यान्सर र मुटु रोगको उपचार गरिने बताउनुभयो ।
त्यसैगरी आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकको कार्यान्वयनका लागि राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र जनरल बेड सेवा निशुःल्क गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यो संगै अस्पतालको अस्पतालको भौतिक संरचना निर्माणलाई पनि अघि बढाईने छ ।
त्यसैगरी जटिल प्रकृतिका गर्भवती तथा सुत्केकरीहरुलाई संघिय सरकारसैग समन्वय गरेर हवाई सेवा निशुल्क गरिने भएको छ । त्यसैगरी प्रदेश राजधानीमा रहेको लालमटीया स्वास्थ्य चौकीलाई स्तरोन्नतीगरी सुविधा सम्पन्न पचास शैयाको अस्पतालको रुपमा विकास गरिने भएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गर्दै सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । नीति कार्यक्रममा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राजधानी व्यवस्थापन र संरचना निर्माणको कामलाई गौरवको आयोजना रुपमा घोषणा गरिएको छ ।






