दशैं छोड्दै ‘परदेशी २’ले रोज्यो महाशिवरात्री

साउन २७, २०७९


काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति पछि सरेको छ । बडादशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब महाशिवरात्री अर्थाात् आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माता राजेश वंशलका अनुसार वितरक, हल सञ्चालक र चलचित्रकर्मीहरुसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताए ।

भदौंदेखि नै चलचित्र प्रदर्शनको चाप देखिएको छ । ‘परदेशी २’ ले पदर्शन मिति तोकेको एक साता अगाडि ‘प्रेमगीत ३’ रिलिज हुँदैछ । ‘एकले अर्को चलचित्रलाई असर नगरोस् भनेर हामी पछि सर्ने निर्णयमा पुगेका हौं’ बंशल भन्छन् ।

दशैं तिहारमा धेरै चलचित्र हुँदा प्रचारप्रसारमा पनि असर पर्नसक्ने बताउँदै पछि सार्दा प्रचारप्रसार पनि ससक्त तरिकाले गर्न सकिने र धेरै दर्शकसम्म पुर्याउन सकिने निर्देशक नारायण रायमाझी बताउँछन् । उनी चलचित्रको केही प्राविधिक काम पनि बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने देखिएकाले पनि रिलिज मिति पछाडि सार्ने निर्णय लिईएको बताउँछन् ।

‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ ।

नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गरेका हुन् ।  चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले लेखेका हुन् ।
चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ ।

बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी रहेको छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ । सुदीप कुँवरको सह–निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् भने यसमा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह–सम्पादन छ ।
ईश्वर घिमिरे÷रामहरि डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठ र दिनेश विष्टको भी.एफ.एक्स, मिराज अर्यालको टाइटल डिजाइन, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको साउण्ड डिजाइन र ५.१ मिक्सिङ रहेको चलचित्रको डबिङ र फोले मनोज खड्काले गरेका छन् ।

लोकप्रिय गायक प्रकाश सपूत डेब्यु चलचित्रको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।