जोखिममा रहेका ४ सयभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार
काठमाडौँ, २ भदौ ।
सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निः शुल्क हवाई उद्धार सेवा कार्यक्रम लागु गरे यता हालसम्म ४ सय ३ जनाको उद्धार भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २६ जना, २०७६/०७७ मा ८७ जना, २०७७/०७८ मा १ सय ३ जना, गत आर्थिक वर्ष १ सय ६९ जना र चालु आर्थिक वर्षको हालसम्म १८ जना गरी ४ सय ३ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई सेवा मार्फत उद्धार गरिएको हो । सबैभन्दा बढी कर्णाली प्रदेशका १ सय ४१, प्रदेश १ का १ सय ३, बागमती प्रदेशका ७१, सुदुरपश्चिम प्रदेशका ६१, गण्डकी प्रदेशका २० र लुम्बिनी प्रदेशका ७ गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । हाल यो कार्यक्रम ताप्लेजुङ, सङ्खुवासभा, भोेजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा अछाम र दार्चुला गरी १९ जिल्लामा पूर्ण रुपमा कार्यान्वयनमा छ । २९ जिल्लामा आंशिक रुपमा लागु छ । सरकारले सबै जिल्लामा यो कार्यक्रम लागु गर्ने तयारी गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताउनुभयो । लामो प्रश्रव व्यथा लागेमा वा सुत्केरी तथा गर्भवती अवस्थामा कुनै पनि समस्या देखिएमा स्थानीय सरकारको समन्वयमा मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको ९८५१२५५२५४ र ०१४२००३२८ सम्पर्क गर्न सकिन्छ । यसरी उद्धार गरिएका महिलाको तोकिएका विभिन्न १३ अस्पतालमा उपचार हुने गरेको छ । तर, उद्धारको लागि सम्मन्वय भने अझै सहज नभएको नागरिक बताउँछन् । सीआईएनबाट साभार गरिएको हो ।