मतवा र गुरुवालाई भत्ताको व्यवस्था गछौँ

कार्तिक १३, २०७९


तुलसीपुर, १३ कार्तिक ।  

दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार  कोमल ओलीले शिक्षाले नै समाज बदल्ने बताउनु भएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका –१२ को रझेनीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । शिक्षाले नै व्यक्ति, गाउँ, सामाज र देश बदल्ने भएकाले  पहिलो प्रथामिकता, शिक्षा, त्यसपछि विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा भएको बताउनुभयो ।
नेकपा एमालेकी सूर्य ध्वजाबाहक उम्मेदवार ओलीले आफू जितेर गएमा सधैँ जनताको सुख, दुःखमा सँगै रहने  प्रतिवद्धता व्यक्त गर्दै किन भोट हालेछु भनेर पछुतो हुन  नदिने बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै एमालेबाट प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार घनश्याम पाण्डेले थारू मतवा र गुरुवालाई परिचयपत्र उपलब्ध गराउने बताउनुभयो । लुम्बिनी प्रदेशमा मतवा प्रथालाई कानुनी मान्यता दिने र राज्यको तर्फबाट  सामाजिक कार्य सम्पादनमा महत्वपूर्ण योगदान गरेबापत मासिक भत्ताको समेत व्यवस्था गर्ने बनाउनुभयो ।
थारु भाषालाई लुम्बिनी प्रदेशमा कामकाजी भाषाका रुमपा कार्यान्वयनमा ल्याउने बताउँदै पाण्डेले त्यसले थारू समुदायको सम्मान, पहिचान र गौरव बढाउने काम गर्ने बताउनुभयो । आफु तुलसीपुर उपमहानगरको मेयर हुँदा राप्ती प्रादेशिक अस्पतालमा  सिकल सेल एनिमियाको जाँचको व्यवस्था गरेको बताउँदै पाण्डेले सूर्य चिन्हमा मतदान गरेर विजयी गराएमा सिकल सेल एनिमियाको निशुल्क उपचारको व्यवस्था गर्ने बताउनुभयो ।   सो अवसरमा समानुपातिक उम्मेदवार रेखा शर्मा, मान बहादुर केसी, थारु नेता छवि चौधरी, आशु चौधरी, लगाएतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सशी भण्डारीले गर्नुभएको थियो ।