भोलि हुने निर्वाचनका लागि मतदान केन्द्रको तयारी पुरा

मङि्सर ०३, २०७९


तुलसीपुर ३-मंसिर ।

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङका मतदान केन्द्रहरुको निर्माण कार्यको तयारी पुरा भएको छ । जिल्लाका १५३ मतदान स्थल र ४६५ वटा मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मतदान केन्द्रहरुको निर्माण कार्यको तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रजिअ रेग्मीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसंग छलफल गरी मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । मतदान स्थलमा सरसफाईदेखि डोरी तानेर मतदानका लागि बुथ केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

जिल्लामा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचनका लागि ३ हजार ७ सय २० कर्मचारी खटिएको प्रजिअ रेग्मीले बताए । त्यस्तै करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ ।

प्रजिअ रेग्मीले दिएको जानकारी अनुसार जिल्लामा सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको दाङमा ४ लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

जिल्लाका पाँच मतदान केन्द्रमा महिलाहरू मात्रै खटिएका छन् । मतदान अधिकृत, साहयक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र अधिकांश सुरक्षाकर्मी सबै महिला खटाइएका छन् ।