फाइनल खेलेसँगै मेरो विश्वकप यात्रा सकिन्छ : लियोनल मेसी

मङि्सर २८, २०७९


मंसिर २८, अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन् । मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३\० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन् ।

फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु, मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छुजस्तो नलागेको मेसीले उल्लेख गरेका छन् । यो यात्रालाई यसरी फाइनल खेलेर नै टुंग्याउनु सबैभन्दा राम्रो हो, उनले भनेका छन् ।

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन । दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको छ । बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।