प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्दै आयोग

मङि्सर २८, २०७९


मंसिर २८, निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ चयन भएका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ । दलहरूले पाएका सिटमा पेश गरेका नामावलीलाई आयोगले आज दिउँसो १ बजेपछि समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्ने एक आयुक्तले जानकारी दिए ।

आयोगले प्रतिनिधि सभाका ११० सिट र प्रदेशका २२० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने र निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको हो । दलहरूले क्लस्टरअनुसार सांसद चयन गरेर आयोगमा पेश गरेका थिए । प्रतिनिधि सभातर्फ पेश गरेका सूचीमा त्रुटि नभेटिए पनि प्रदेश तर्फका सूचीमा त्रुटि भेटिएपछि सच्याउन दलहरूलाई समय दिइएको थियो ।

आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारीसमेत गरेको छ । आयोगले निर्वाचन प्रतिवेदन बुझाएपछि राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि केही दिनमा प्रक्रिया सुरू गर्नेछ ।