टरिगाउँ विमानस्थलमा सातामा ५ दिन उडान हुने

पुष ०३, २०७९


पुस ३, दाङको तुलसीपुर उपमहानगरपालिका-१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ ।यसअघि सातामा तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो । पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताइन् ।

हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले जानकारी दिइन् । यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ’ उनले भने, त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ । यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनको भनाइ छ । साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनले बताए । नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौं, उनले भनिन्, त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ । केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो ।

अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ । कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।