अनमोल र पूर्णिकाको अभिनय रहने ‘जेरी २’ का लागि ‘टाइटल फन्ट डिजाइन’ प्रतिस्पर्धा

पुष ०३, २०७९


फिल्म ‘जेरी २’ को लागि टाइटल फन्ट डिजाइन कम्पिटिसन आह्वान गरेको छ । अनमोल केसी र पूर्णिका सिंजापतिको अभिनय रहने फिल्म ‘जेरी’को दोस्रो श्रृंखलाका लागि ‘टाइटल फन्ट डिजाइन’ प्रतिस्पर्धा आह्वान गरेको हो । निमार्ण पक्षले विज्ञप्ति जारी गर्दै केहि सर्तसहित ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ मा नक्कल गरिएको डिजाइन मान्य नहुने बताउदै प्रतिस्पर्धामा इच्छुकले आफ्नै परिकल्पनामा फन्ट डिजाइन गर्नु पर्ने बताएको छ ।

प्रतिस्पर्धीले आफ्नो डिजाइन ‘Nepmoviesentertainment@gmail.com’ मा पुष १० अर्थात डिसेम्बर २५ सम्म पठाइसक्नु पर्नेछ । निर्धारित मिति भन्दा ढिलो पठाइएको डिजाइनले प्रतिस्पर्धामा भाग लिन नपाउने निर्माण पक्षले बताएको छ । जुरीको मुल्यांकनका आधारमा विजेता छनोट गरिनेछ । र उक्त डिजाइन फिल्ममा समावेश हुनेछ । साथै विजेताले ५० हजार नगद जित्नेछन् ।

हेमराज बिसीले निर्देशन गर्ने यो फिल्मको अहिले प्रि-प्रोडक्सनको कार्य चलिरहेको छ । फिल्ममा अनमोल र पूर्णिका मात्र अनुबन्धित छन् । फिल्मका अन्य कलाकार घोषणा भएका छैनन् । हेमराज र अनमोलले फिल्म ‘होस्टेल’बाट आफ्नो करिअर सुरु गरेका थिए । यी दुईले ‘जेरी’ र ‘गाजलु’मा पनि सहकार्य गरेका थिए । जुन फिल्म बक्सअफिसमा हिट सावित भएका थिए ।

‘जेरी २’ मा हेमराज र अनमोलको ६ वर्षपछि सहकार्य हुन लागेको हो । त्यसैले यो फिल्म घोषणादेखि नै प्रतिक्षित बनेको छ ।अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपानेले निर्माण गर्नेछन । सरोजले यसअघि हेमराज निर्देशित फिल्म ‘सम्बोधन’ र ‘द ब्रेकअप’ मा लगानी गरिसकेका छन् ।