राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलियातर्फ

माघ २०, २०७९


माघ २, नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य राई सुरक्षित भविष्यको खोजीमा विदेशिएका हुन् । विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

बिदाइ गरेको फोटो राख्दै मच्छिन्द्र क्लबका व्यवस्थापक अनिल श्रेष्ठले लेखेका छन्, फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई तिमीले दिएको योगदान सदैव अविस्मरणीय रहिरहनेछ । विशाल भाइलाई उज्ज्वल भविष्यको कामना । तिम्रो अष्ट्रेलिया बसाइ सुखद एवं फलदायक रहोस् । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनको लिग नजिकिदै गर्दा अष्ट्रेलिया लागेका हुन् । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । मछिन्द्रले लगातार दुई पटक लिग जित्दा उनी टिमका मुख्य खेलाडी थिए ।

विशालले मनाङ मर्स्याङ्दी क्लबबाट समेत लिगको उपाधि जितेका थिए । विशालले नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट खेलेका हुन् । विशालले नेपालका लागि २८ खेलमा ३ गोल गरेका छन् । पछिल्लो समय खेलाडी पलायन तिब्र भइरहेको छ। पछिल्लो दुई वर्षमा मात्र करिब दुई दर्जन राष्ट्रिय टोली र उमेर समूहमा मुलुकको प्रतिनिधित्व गरिसकेका खेलाडी अस्ट्रेलिया पुगेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले फागुन १९ देखि ए डिभिजन फुटबल लिग आयोजना गर्ने तालिका सार्वजनिक गर्दैगर्दा राष्ट्रिय खेलाडीको डरलाग्दो पलायन देखिएको छ ।