नेविसंघको स्थापना दिवसका अवसर खाद्यान्न सहयोग

बैशाख ०६, २०८०


दाङ , ६ बैशाख । नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसका अवसरमा नेपाल विद्यार्थी संघ दाङ शाखाले अनाथ तथा असहाय नागरिकहरुलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल विद्यार्थी संघ दाङले घोराही उपमहानगरपालिका–१० मा रहेको मानव सेवा समाज (सेवा घर) लाई खाद्यान्न सहयोग गरेको हो । सेवा घरमा आश्रय लिएर बसोवास गर्ने अनाथ तथा असहाय नागरिकहरुलाई सहयोग मिलोस भनेर स्थापना दिवसका अवसरमा बुधवार सेवाघरमै पुगेर चामल, दाल, तेल, पिठो र नुन सहयोग गरेको नेपाल विद्यार्थी संघ दाङका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिएका छन् ।

साथै अध्यक्ष पोख्रेलले नेविसंघले विद्यार्थीहरुको हकहितसँगै सामाजिक सेवाका लागि पनि सक्रिय रुपमा लाग्दै आएको भन्दै आगामी दिनमा पनि मानवीय सेवाको कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । खाद्यान्न सहयोग गर्ने नेविसंघलाई धन्यावाद दिदै मानव सेवा समाज (सेवा घर) नारायणपुर शाखाका संयोजक अस्मिता श्रेष्ठले नागरिकहरुको सहयोगमा संचालित सेवाघरलाई सवैको सहयोगको खाँचो आवश्यक रहेको बताइन । निशुल्क अनाथ तथा असहाय सडक मानिसहरुलाई उद्धार गरेर सहयोग गर्ने उद्देश्यले संचालित सेवा घरले कुनै पनि विदेशी निकायको सहयोग नलिएर चल्दै आएको बताइन । उनले स्थानीय सरकारसँगै दिनहु मानिसहरुले आफ्नो जन्मदिन, स्थापना दिवस, विवाहलगायतका कार्यहरु पारेर सहयोग गर्ने गरेको भन्दै त्यही सहयोगले सेवाघर चल्दै आएको बताएकी थिइन ।

सेवाघरमा अहिले ३६ जना अनाथ तथा असहाय नागरिकहरु बस्दै आएका छन् । खाद्यान्न सहयोग कार्यक्रममा नेपाली कांग्रेस घोराही–३ का इकाइ सभापति शरद बुढाथोकी, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला कोषाध्यक्ष ऋषि पोखे्रल, पूर्व जिल्ला सदस्य निरज गिरी, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति मनोज डिसी, सचिव बसन्त भण्डारी, अम्विकेश्वरी क्याम्पसका स्ववियु सभापति रणबहादुर खड्का, नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ सल्लाहकार ओमप्रकाश शर्मालगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण नेविसंघका जिल्ला सदस्य गुरु गौतमले गरेका थिए ।