एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने

असार २०, २०८०


असार २०, नेकपा एमाले ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सरदार प्रितम सिंह पटक-पटक भारत गएर आफूलाई प्रधानमन्त्री बनाएको भन्ने प्रचण्डको अभिव्यक्ति मुलुकको सार्वभौमिकताविपरीत रहेको भन्दै राजीनामा माग्ने निर्णय गरेको सांसद ठाकुर गैरेले बताए ।

सरदार प्रितम सिंहको किताब विमोचनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सार्वभौम संसद्को मर्यादाविपरीत रहेको निष्कर्ष निकाल्दै राजीनामा माग्ने निर्णय गरेको गैरेको भनाइ थियो । प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को सार्वभौमिकताको मानमर्दन गरेको छ । यो अभिव्यक्ति घातक छ। सदनमा विरोध गर्छौं र प्रधानमन्त्रीको राजीनामा माग गर्छौं, उनले भने । सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसद, जनमतको अपमान गरेकाले सशक्त विरोध जनाउने बताए ।

हामीले संसदीय दलको बैठक अपर्झट आयोजना गर्‍यौंं । १८ गते प्रधानमन्त्रीले सार्वभौम संसद्को विपक्षमा अभिव्यक्ति दिनुभयो । दिल्लीले प्रधानमन्त्री बनाएको अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्रीको यो अभिव्यक्ति संसदमाथिको अपमान हो, जनादेशमाथि गरेको अपमान हो । यो कुरा सदनमा राख्नेछौं, बर्तौलाले भने । यो सामान्य विषय नभएको र एमालेले यसको सशक्त विरोध गर्ने उनले बताए ।