१६ औं एसिया कप आजदेखि, उद्घाटन खेल पाकिस्तानविरूद्ध नेपाल खेल्दै

भदौ १३, २०८०


भदौ १३, एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ । उद्घाटन खेलमा नेपालले विश्वको एक नम्बर टिम पाकिस्तान विरूद्ध खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ ।

पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो । भर्खरै अफगानिस्तान विरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३/० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो । पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् । पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ । यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन् । बलिङमा ‍पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन् ।

उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ । अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन् । १० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो । विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ । पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ ।

यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन् । आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ । बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ । यस्तै स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन्। उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ । एसिया कपका लागि नेपालले एक साता पाकिस्तानको कराँचीमा तयारी गरेको थियो । त्यसअघि नेपालले दुई साता श्रीलंकामा बन्द शत्र सञ्चालन गरेको थियो ।