तुलसीपुर-७ द्वरा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

पुष १९, २०८०


पौष १९, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ ले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले आज बिहिबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको हो ।

वडाका जेष्ठ नागरिक ९७ वर्षिय रुपी देवी न्योपानेबाट न्यानो कपडा वितरण कार्यक्रमको सुरु गरिएको हो । वडामा बसोबास गर्ने ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिहरुलाई न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो । वडाको चालु आर्थिक वर्षको बजेट मार्फत ९७ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको उहाँले जानकारी दिनुभयो । वडाले गतवर्ष तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा न्यानो कपडा वितरण गरेका थियो ।

यस वर्ष वडाले १ लाख बराबरको न्यानो कपडा ९७ जना जेष्ठ नागरिकहरुलाई वितरण गरेको छ भने वडासम्म आउन नसक्नेलाई घरमै पुगेर न्यानो कपडा वितरण गरेको जिसीले बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण पनि गरिएको हो । पर्सेनी नगर स्वास्थ्य इकाइका इन्चार्ज बासुदेव चौधरीले जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्नुभएको हो । उहाँले धेरै जेष्ठ नागरिकहरुको उच्च रक्तचाप (विपि हाइ) रहेको पाइएको बताउनुभयो ।

वडा अध्यक्ष राम बहादुर जिसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्य शोभाराम भण्डारी, मान बहादुर राना, महिला सदस्य दिवानी चौधरी, दलित महिला सदस्य डिला बिक, वडा सचिव राजु देवकोटा, जेष्ठ नागरिकका सल्लाहकार मान प्रसाद भूषाल, जेष्ठ नागरिक वडा समितिका सचिव नारायण प्रसाद भूषाल लगाएकाले मन्तव्य राख्नुभएको हो ।