अब्बल कलाकारहरुको प्रस्तुतिले बढ्दै तुलसीपुर मेलाको रौनक

फागुन ०२, २०८०


तुलसीपुर, २ फागुन । हरेक मेला महोत्सवमा आफ्नो प्रस्तुतिमार्फत पाका पुस्ताको मन पगालेर आँखाबाट बगाउने चर्चित गायक बद्री पंगिनीले मंगलवार तुलसीपुर महोत्सव–२०८० मा पनि आफ्नो प्रभाव जमाउन सफल भए । बाध्यताले विदेशिनु परेका परदेशी र उनीहरुको पर्खाइमा बसेका बुढा बाआमाको बेदना व्यक्तहुने गिती टुक्काहरु सुन्दा महोत्सवमा उपस्थित ज्येष्ठ नागरिकहरुले आँसु थाम्न सकेनन् । त्यसपछि भने गायक पंगिनीले देश विकासको सवालमा स्थानीयस्तरदेखि संघसम्मका जनप्रतिनिधिले जनताको भावनाअनुरुप काम गर्न नसकेको आफ्नो प्रस्तुतिमार्फत व्यक्त गरे ।

पंगिनीका अधिकांश प्रस्तुतिभर ज्येष्ठ नागरिकका आँखामा आँसु र युवापुस्ताका आँखामा निराशा झल्किन्थ्यो । अन्तिममा गायक पंगिनीले युटन मार्दै सबैलाई नचाइ छाडे । ‘ससुरालीमा ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा’ गितमार्फत सबैलाई नचाउँदै गायक पंगिनीले आफ्ना प्रस्तुतिको अन्त्य गरे । त्यस्तै अर्की चर्चित कलाकार रचना रिमालले ‘अब कहिले कमाउने हो, अब कहिले रमाउने हो’लगायतका गितमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन । युवा पुस्तामा बढी रुचाइने गायक रिमालले प्रस्तुति राख्दा अँध्यारो भइसकेको थियो तर दर्शकहरुको कमी थिएन । महोत्सवमा अर्की कलाकार सम्झना भण्डारीले पनि प्रस्तुति राखेकी थिइन ।

आज ज्योति मगर अउने मोत्सवमा आज बुधवार चर्चित गायिका तथा मोडेल ज्योति मगर आउने भएकी छिन् । आफ्ना विभिन्न खालका प्रस्तुतिमार्फत चर्चामा रहेकी मगर अधिकांश मेला महोत्सवमा आकर्षणको केन्द्र बन्ने गरेकी छिन् । दर्शकहरुको भावनाअनुसार मगरलाई बुधवार प्रस्तुतिका लागि ल्याउन थालिएको महोत्सवका सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।