निजामती सेवा विधेयक संसदमा पेस

चैत ०१, २०८०


चैत १, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो ।

प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार अबयो विधेयक प्रतिनिधि सभाको अर्को बेठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरुले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरुको संशोधन समेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।

यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोभको सूचना राखेका थिए । त्यसक्रममा सांसद सुवालले उठाएका प्रश्नहरको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले संघीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताए ।

प्रदेश र स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न यो विधेयक आवश्यक रहेको मन्त्री जोशीले बताए । राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनाका लागि यो विधेयक ल्याउनु परेको उनले दोहोर्‍याए । विधेयकले कर्मचारीलाई राजनीतिक रुपमा मुक्त बनाउने लगायतका उदेश्य रहेको पनि उनले बताए ।