आईसीसी टी-२० वरियतामा नेपालका रोहित भारतका रोहितभन्दा अब्बल

चैत ०१, २०८०


चैत १, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको टी-२० वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधार गरेका छन् । रोहितले ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९ औँ स्थानमा उग्लिएका हुन् । यसअघि उनी ५५ औँ स्थानमा थिए ।

रोहितले वरियतामा भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई पछि पारेका छन् । रोहित शर्मा ५१ औँ स्थानमा छन् । भारतीय ब्याटर विराट कोहली भने रोहित पौडेलभन्दा एक स्थानमा माथि छन् । ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता भने ६ स्थान खस्किएको छ । यसअघि ७० औँ स्थानमा रहेका दीपेन्द्र अहिले ७६ औँ स्थानमा छन् । उनी हङकङमा भएको टी-२० सिरिजमा सहभागी भएका थिएनन् ।

अलराउन्डरतर्फ भने दीपेन्द्रले ५ स्थान सुधार गरेका छन् । उनी अहिले २२ औँ स्थानमा उग्लिएका छन् । यसअघि दीपेन्द्र २७औँ स्थानमा थिए । अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२ औँ स्थानमा उग्लिएका छन् । गुल्सन झा ६ स्थान सुधार गर्दै ६६ औँ स्थानमा उग्लिदा कप्तान रोहित पौडेल १८ स्थान सुधार गर्दै ७५ औँ स्थानमा छन् । करण केसी ८० औँ स्थानमा छन् ।