जिम्मेवार निकायको जवाफदेहिताका लागि कानून : मुख्य न्यायाधीश पाण्डे

बैशाख २६, २०८१


बैशाख २६, उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले जिम्मेवार निकायको जवाफदेहिताका लागि कानूनको आवश्यकता पर्ने कुरामा जोड दिनुभएको छ । जिम्मेवार निकायले सही ढँगले काम नगर्दा कानूनको आवश्यकता पर्ने गरेको उहाँको भनाई छ । ‘जहाँ जिम्मेवारी पुरा भएको हुँदैन त्यहाँ कानूनको आवश्यकता पर्ने गर्दछ’ मुख्य न्यायाधिश पाण्डेले भन्नुभयो ।

६५ औ कानून दिवसका अवसरमा तुलसीपुर मेट्रो कलेज कानून संकायले आयोजना गरेको कानुनको परिपालनामा जिम्मेवार निकायको भुमिका विषयक कार्यक्रममा प्रमुख अतिथिकारुपमा बोल्दै मुख्य न्यायाधीश पाण्डेले कुनै पनि कुरालाई सही या गलत भन्दा पनि त्यसलाई कसरी राम्रो बनाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले संविधानले निर्देश गरे अनुसारका कानून नबन्दा चाहे अनुसार कार्यसम्पादन गर्न नसकिएको बताउनुभयो । समयमै कानून नबन्दा संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको बताउँदै खड्काले सुशासनका लागि कानून निर्माणमा ध्यान दिनुपर्ने बताउनुभो । वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कानूनी अभावमा समयमै र सही न्याय सम्पादन गर्नकालागि जटिलता उत्पन्न भएको बताउँदै आवश्यक कानून निर्माणमा सरकारले चासो दिनुपर्ने कुरामा समेत जोड दिनुभयो ।

सरकारी वकिल कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता मोहनसागर बस्यालले कानूनका बारेमा दिवसमा मात्रै चर्चा गर्नु भन्दा सधै उत्तिकै महत्व दिनुपर्ने बताउँदै कानूनमा उल्लेख भएपनि समुदायले त्यसको पालनामा चासो नदिदा कार्यान्वयनमा समस्या आएको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरु दिलिप केवट र इन्द्रबहादुर खत्रीले कानून दिवसको सान्दर्भिकतामा बारेमा प्रस्तुत गर्नुभएको थियो । कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कानून संकाय प्रमुख विजय पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजिकरण मालती श्रेष्ठले गर्नुृभएको थियो ।