मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने प्रधानमन्त्री प्रचण्डको तयारी

जेठ २४, २०८१


जेठ २४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तयारी गरेका छन् । मोदीको शपथ शनिबार दिल्लीमा हुँदैछ । प्रधानमन्त्रीले भारत भ्रमणमा जाने तयारी गरिरहेको र संभवतः आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सरकारका एक मन्त्रीले जनाए ।

यसअघि हिजो साँझ भएको फोनवार्तामा मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्रीलाई निम्तो गरेका थिए । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका थिए ।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन् ।