युरो कपको क्वाटरफाइनल समीकरण पूरा
रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा गएराति भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३-० ले हराएको हो ।
नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए ।
जाभी सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए ।
दोस्रो गोल ८३ औं मिनेटमा डोन्यल मालेनले गरे । रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए ।
इन्ज्युरी समयको चौथो मिनेटमा मालेनले नै तेस्रो गोल गर्दै जीत निश्चित गरे ।
यस्तै, गएराति नै भएको अर्को रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर गोल फर्काए पनि बराबरी भने गर्न सकेन ।
खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई अघि बढाएका थिए । दोस्रो हाफको ६६ औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत् गोल गर्दै अग्रता दोब्बर पारे ।
६६ औं मिनेटमा माइकल ग्रेगोरिस्चले गोल फर्काए । तर, त्यसपछि भने थप गोल हुन सकेन ।
अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३-० को जीत दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो ।
योसँगै युरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब क्वार्टरफाइनलमा स्पेन र जर्मनी, पोर्चुगल र फ्रान्स, नेदरल्यान्ड्स र टर्की तथा इंग्ल्यान्ड र स्विजरल्यान्ड भिड्ने छन् ।