एमाले लुम्बिनी संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

साउन ०९, २०८१


नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए ।

आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेको गिरीले जानकारी दिए । ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन’, उनले भने ।मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नभएकाले राजीनामा दिएको उनी निकट एक प्रदेश सांसदले बताए । ‘उहाँ त धेरै सहनशील नेता हो, तर यसपटक छापारमार शैलीमा घात नै भएपछि सहन सक्ने कुरा भएन, धेरै नेता कार्यकर्ताको पनि दबाब आएपछि राजीनामा दिनुभएको हो’, ती सांसदले भने । महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट छन् । सोमबार बिहान मुख्यमन्त्रीमा दावी पेश गर्न जान पत्र तयार हुँदै गर्दा महासचिव पोखरेलले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गर्दै गिरीको साटो आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जानकारी गराएपछि गिरीले आफूमाथि घात भएको बताएका थिए ।