एकैपटक २२ जना सचिवको सरुवा

साउन १४, २०८१


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक २२ जना सचिवको सरुवा गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवको सरुवा गरेको हो ।

एक मन्त्रीका अनुसार अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा.रामप्रसाद घिमिरेलाई दिइएको छ भने अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । त्यस्तै अर्थ मन्त्रालमया राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे सरुवा भएका छन् ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ ।

ति मन्त्रीका अनुसार बैठकले १८ देशका लागि राजदुत नियुक्त समेत गरेको छ ।

यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणी सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएको छ भने रक्षा मन्त्रालयका सचिव किरणराज शर्माको राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

उपराष्ट्रपति कार्यालयका सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा भएको छ । यस्तै, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माको दोहोर्याएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । छ भने भौतिक मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा ऊर्जा सचिवमा सरुवा भएको छ ।