चालकमा करुणा र प्रेम हुनुपर्छ : नायक निखिल उप्रेती

भदौ ३०, २०८१


भाद्र ३०, नायक निखिल उप्रेतीले चालकले यात्रुको मनोभावना बुझ्नुपर्ने बताउनु भएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको पाँचौ वार्षिक साधारणसभालाई तुलसीपुरमा सम्बोधन गर्दै उप्रेतीले चालकको पछाडि बसेका ६० र ७० जना यात्रुको जीवन चालककै भरमा हुने भएकाले उनीहरूको मनोभावना बुझेर यात्रुमैत्री बोली, व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो ।

कतिपय चालकका कारण यात्रुहरूले दुःख पाएको गुनासो आउने गरेको बताउँदै नायक उप्रेतीले संवेदनशील पेशा भएकाले चालकमा करुण, दया र माया हुनुपर्ने बताउनुभयो । पछिल्लो समय गाडी चालक र सहचालकलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएको बताउँदै यातायात व्यवसायीलाई सम्मानित पेशाका रुपमा विकास गर्नका लागि बानी सुधार्नुपर्ने उहाँले बताउनुभयो ।

‘मान्छे घर छोडेर निस्केको हुन्छ । त्यतिबेला ऊ स्वयम् एक्लो हुन्छ । साथमा अरु कोहिँ पनि हुँदैन । त्यसैले यात्राको समयमा पाएको दुःख कहिल्यै बिर्सन सकिदैन । त्यतिबेला पाएको पीडा मनमा गहिरो छाप बनेर बसेको हुन्छ । त्यसैले यात्रा आरामदायी र यादगार हुनुपर्छ । जुनीजुनी सम्झन लायक हुनुपर्छ । त्यसैले हामीलाई आफूले आफूलाई चिन्यौँ र पेशा प्रति जिम्मेवारी बोध गर्यौं भने हामी समाजमा गर्व गर्न लायक हुन्छौ ।’ उप्रेतीले भन्नुभयो ।

मान्छे आफ्ना आनीबानीका कारण आज तनावमा रहेको बताउँदै मनलाई कन्ट्रोल गर्न सक्यो भने त्यसबाट सजिलै मुक्त हुन सक्ने बताउनुभयो । संसारभर ड्राइभिङ पेशा प्रिय छ । त्यसैले त ड्राइभरका धेरै गित बनेका छन् । सबैले ड्राइभरलाई प्रेम गर्छन । सबै देश दुनियाँ घुम्न चाहन्छन् । सम्बन्ध जोड्न चाहन्छन् । चिनजान गर्न चाहन्छन् । यसको लोक प्रियतामा कमी आउन दिनुहुँदैन ।’ उप्रेतीले भन्नुभयो । सो अवसरमा कार्यक्रमका प्रमुख अथिति राप्ती समितिका पूर्वअध्यक्ष देवीबहादुर डिसीले लोभी साहुका कारण दुर्घटनाका जोखिम बढेको बताउनुभयो ।

‘साहुले लोभ गर्छ । लोभका कारण समयमा गाडी मर्मत सम्भार हुँदैन । अनि दर्जनौँ यात्रु बोकेर हिडेको बस बीचबाटोमा पुगेका बेला पट्टा भाँचिन्छ सक्छ । टायर पञ्चर हुन्छ । जसका कारण एक्सिडेन्ट पनि हुन सक्छ । बीचबाटोमा गाडी ब्रिग्रियो भने यात्रुले दुःख पनि पाउँछन् । पूर्व अध्यक्ष डिसीले भन्नुभयो । साधारणसभामा चलचित्र पत्रकार सङ्घका केन्द्रिय सदस्य ध्रुवराज न्यौपानेले देशभरका सडकमा गुड्ने सार्वजनिक तथा नीजि सवारी साधनको संख्या, तीनको अवस्था लगायतका विषयमा तथ्याङ्क प्रस्तुत गर्दै बसको अघि र पछाडीको सिट अनुसार टिकट शुल्क निर्धारण गर्न सुझाव दिनुभयो ।


कार्यक्रममा कलाकार कमल गाउँले, पूर्वजनप्रतिनिधि नवराज लामीछाने, समितिका पूर्व अध्यक्षहरु नेत्रमणी लामीछाने, प्रेमबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर पोख्रेल, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको साधारणसभामा गोलापर्थाबाट लु१ख ९४८३ नम्बरका बस व्यवसायी रुद्रमणी थापालाई ५५ हजार ५ सय ५ रुपैयाँबाट छनौट गरिएको थियो ।

त्यसैगरी गोलापर्थाबाटै १८ जना व्यवसायीलाई टायर र १८ जनालाई मोबिल प्रदान गरिएको थियो । यसैगरी ३ जना यातायात व्यवसायी, ३ जना मजदुर र ७ जना कर्मचारी गरी जम्मा १३ जनालाई पनि नगद ५१ सयका दरले पुरष्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।।