उद्योगपति केसीको सम्झनामा मेट्रो कलेजमा मुट कोर्ट हुने
तुलसीपुर मेट्रो कलेजले तुलसीपुरका उद्योगपति विष्णु केसीको सम्झनामा पहिलो मुटकोर्ट प्रतिष्पर्धा गर्ने भएको छ । कलेजको बिएएलएलबी विभागले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । उनले कानून अध्ययनरत विद्यार्थीहरुमा बहस गर्ने क्षमताको विकासका लागि यस्तो कार्यक्रम गर्न लागिएको पनि जानकारी दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालय स्तरिय मुटकोर्ट प्रतियोगितामा १५ वटासम्म समुहलाई सहभागी बनाइने कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिए ।
यसैबिच प्रतियोगिता सञ्चालनका लागि तुलसीपुरमा रहेका गणेश पाउरोटी उद्योगले सहयोग गर्ने भएको छ । उद्योगका सञ्चालक विनिल केसीले प्रतियोगिता सञ्चालनका लागि हरेक वर्ष सहयोग गरिने बताए । तुलसीपुरमा खाद्य उद्योग सञ्चालनमा स्वर्गिय विष्णु केसीको महत्वपूर्ण योगदान रहेको छ । उनी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत भएका थिए ।