दर्शकको प्रतिक्रियाले भावुक पल, चलचित्रको वर्ड अफ माउथ बलियो

साउन २५, २०८२


शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मोहर’ ले दर्शकबाट सुखद प्रतिक्रिया पाएको छ । पहिलो दिन मध्यम अकुपेन्सी रहेको यो चलचित्रको दोश्रो दिन अर्थात शनिबारको अकुपेन्सी पनि सुखद देखिएको छ। चलचित्र हेरेर बाहिरिएका अधिकाशंले कथावस्तु मन परेको र चलचित्रले धेरै ठाँउ भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।

वितरक करण श्रेष्ठका अनुसार अनलाईन बुकिङभन्दा चलचित्रको वर्ड अफ माउथ बलियो छ, जसका कारण निर्माण टिम चलचित्रलाई लिएर थप आशावादी रहेको श्रेष्ठ बताउँछन् ।

रिलिजको पहिलो दिनबाटै चलचित्रका प्रमुख कलाकारहरु हल भिजिटमा दौडिरहेका छन् । दर्शक भेट्न् बिग मुभिज पुगेका नायक पल शाह दर्शकको प्रतिक्रिया सुनेर भावुक भएका छन् । उनले भनेका छन्,’अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । एक त, यसपटक हामीले निकै मिहिनेत गरेका थियौं । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भयो भन्ने लागेको छ ।’

चलचित्रलाई लिएर दर्शकको उत्साह देखेर नायिका नीति शाह पनि भावुक भएकी छिन् । नीतिले आफूले यही क्षेत्रमा केही गर्न चाहेकाले, अझै बढी मिहिनेत गर्नुपर्ने भएको बताईन।।

त्यस्तै, यसै चलचित्रकी अर्की नायिका बेनिशा हमाल पनि आफ्नो चलचित्र र अभिनयले पाएको प्रशंसाबाट दङ्ग छिन। आफ्ना दुई चलचित्र एउटै मितिमा, एकैसाथ प्रदर्शनमा आएपछी उनलाई दुईतिर कुदन भ्याईनभ्याई भएको थियो। उनी भन्छिन् ,’ कति टेन्सन भएको थियो। के हुन्छ होला, कस्तो होला भनेर रातभरी सुत्ने सकेको थिइन् । तर दर्शकले दुईटै चलचित्रलाई स्विकार्दिनु भयो। कामको तारिफ गर्दिनुभयो। एकदमै खुसी अनि ढुक्क छु।’

‘मोहर’ले पाएको दर्शक प्रतिक्रिया र व्यापारबाट चलचित्रका निर्माता चुम्बन जंग शाही पनि उत्साहित छन् ।

प्रदर्शनरत चलचित्र ‘मोहर’ मा पल शाह, नीति शाह, वेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

चुम्बन जंग शाही निर्माता रहेको चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ । देउकी प्रथामा आधारित यो चलचित्रको कथावस्तु पल, बेनिशा र नीतिको त्रिकोणात्मक प्रेमकथा वरिपरि घुमेको छ।

नेपाल प्रेसबाट