गुर्भाकोट कृषि चौतारी : किसानका लागि सहज र प्रभावकारी डिजिटल प्लेटफर्म

भदौ ०७, २०८२     प्रकाश न्यौपाने


जलवायु परिवर्तनका कारण कृषि कार्यमा बढ्दो अनिश्चितताले किसानलाई थप चुनौती दिएको छ। अनियमित वर्षा, लामो खडेरी, असिनापानी, बाढीपहिरो जस्ता विपद्ले ठूलो असर पारेका छन्। रोग–किरा र नयाँ कीराफट्यांग्राको प्रकोप पनि तीव्र रूपमा बढ्दै गएको छ। यसले गर्दा किसानलाई समयमै खेती गर्ने, उत्पादन सुरक्षित गर्ने र आय आर्जन गर्ने काम कठिन बन्दै गएको छ। यसै सन्दर्भमा, गुर्भाकोट नगरपालिकाले ली–बर्ड, PIN र WHH को समन्वयमा सञ्चालित प्रारम्भ परियोजना अन्तर्गत गुर्भाकोट कृषि चौतारी नामक ह्वाट्सएप ग्रुप २०२४ जुलाई १३ मा सुरु गरेको हो।

हाल यस ग्रुपमा किसान, स्थानीय नेतृत्व, कृषि प्राविधिकसहित २२४ जना भन्दा बढी सदस्य संलग्न भएका छन्। जसमध्ये १० जना राष्ट्रियस्तरका कृषि विज्ञ (बाली रोग विशेषज्ञ, बाली प्रजनक, कृषि-मौसम सल्लाह विशेषज्ञ आदि) समेत सहभागी छन्। यसले समूहलाई साधारण सूचना आदान–प्रदान मात्र नभई ज्ञान आदान–प्रदान गर्ने सक्रिय केन्द्र बनाएको छ।

यस समूहको मुख्य उद्देश्य किसान र समुदायलाई मौसम पूर्वानुमान, विपद् तयारी, अग्रिम चेतावनी प्रणाली, कृषि प्रविधि र खेतीपाती सम्बन्धी जानकारी सजिलै उपलब्ध गराउने र कृषक र विज्ञबिच दुई–तर्फी संवाद प्रवाह गर्ने हो। हरेक दिनको मौसम पूर्वानुमान, वर्षा मापन तथ्यांक, कृषि-मौसम सल्लाह बुलेटिन, साथै किसानले उठाएका समस्या (रोग, किरा, पोषण कमी आदि) लाई विज्ञले प्रत्यक्ष समाधान गर्ने सुविधा यसमा उपलब्ध हुन्छ।

गुर्भाकोट नगरपालिकाका कृषि अधिकृत नवराज थापा भन्नुहुन्छ, “पहिले किसानहरू बोटबिरुवा बोकेर नगरपालिका आउँथे वा फोटो पठाउँथे, र हामीले एउटै समस्या बारम्बार व्यक्तिगत रूपमा समाधान गर्नुपर्थ्यो। यसले समय र स्रोत धेरै खर्चिन्थ्यो। तर अब गुर्भाकोट कृषि चौतारी सुरु भएपछि, किसानले ह्वाट्सएपमै समस्या राख्छन्, हामी समाधान पठाउँछौं, र त्यो समाधानले अरू किसानलाई पनि सजिलै सहयोग पुर्‍याउँछ।

यस समूहमार्फत दैनिक मौसम पूर्वानुमान र कृषि-मौसम सल्लाह पाउँदा किसानहरुले बाली रोप्ने, काट्ने, व्यवस्थापन गर्ने निर्णय समयमै लिन सक्ने भएका छन्। यसले हानी नोक्सानी कम गरेको छ। हाम्रो दृष्टिमा, यो समूह किसानस्तरमा कृषि-मौसम सल्लाह पुर्‍याउने अत्यन्त प्रभावकारी माध्यम बनेको छ।”

गुर्भाकोट कृषि चौतारी सुरु भएदेखि किसानले खेतबारीमै बसेर बालीका रोग–किरा, पोषण कमी जस्ता समस्या को समाधान पाएका छन्। पहिले जस्तो नगरपालिकासम्म धाउनुपर्ने बाध्यता हटेको छ। साथै, वर्षा तथ्यांक र मौसम पूर्वानुमानले विपद् व्यवस्थापन र कृषि निर्णय–निर्माण दुवैमा महत्वपूर्ण योगदान गरेको छ। आजको दिनमा गुर्भाकोट कृषि चौतारी किसानलाई जानकारीमूलक मात्र नभई सशक्त र सक्रिय बनाउने डिजिटल प्लेटफर्म साबित भएको छ।

लेखक कृषी विज्ञ हुन् ।