नेपाली चलचित्र उद्योगमा दाङको उदय

भदौ १४, २०८२     ध्रुव राज न्यौपाने (डि.आर.एन.)


चलचित्र निर्माण देखि प्रदर्शन सम्म दाङको अब्बल भूमिका

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा दाङ जिल्लाले आफ्नो बलियो विरासत कायम गरेको छ । नेपाली चलचित्र उद्योगमा दाङको लोभलाग्दो उदय भएको छ । चलचित्र निर्माण¸ निर्देशन देखि लिएर चलचित्रमा अभिनय गर्ने कलाकार सहित प्रदर्शनका गतिविधिसम्म दाङ जिल्ला अहिले अग्रणी स्थानमा देखा परेको छ । दाङका कलाकारहरुको संख्यामा वृद्धि भएको छ भने दाङकै व्यक्तीहरुले चलचित्र निर्माण सहित निर्देशन सम्मका गतिविधिमा आफूलाई दरिलो ढंगले उभ्याएका छन् ।

चलचित्र प्रदर्शनका हिसावले समेत दाङ जिल्ला अहिले नेपालकै उच्च स्थानमा रहेको छ । केहि वर्ष अघि दाङ जिल्ला कला नगरीका रुपमा केहि पछाडि परेको जस्तो भान हुने गर्थ्यो । चलचित्र क्षेत्रमा पछाडि परेको दाङ जिल्लालाई चलचित्र नगरीका रुपमा विकास गर्नका निमित्त र नेपाली सिनेमा क्षेत्रमा दाङ जिल्लाको बलियो पकड बनाउन दाङका क्रियाशिल विभिन्न संघ संस्थाहरुले महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् । विशेषत चलचित्र पत्रकार संघ नेपालको दाङ शाखाले दाङ जिल्लामा चलचित्रका गतिविधिहरुलाई सक्रिय बनाउदै आएको छ । दाङ जिल्लालाई छायाँकन स्थलको हब बनाउन थुप्रै कार्यक्रमहरु सम्पन्न भएका छन् । वर्तमान समयमा हेर्दा दाङमा अब छाँयाकनको बहसले सार्थकता पाईसकेको छ । नेपाली सिनेमाको छायाँकनका हिसावले पनि दाङ अहिले रोजाईको जिल्लाका रुपमा पर्दैछ । सिनेमा प्रदर्शनका हिसावले दाङ जिल्ला फिल्मकर्मीहरुका लागि रोजाईको जिल्ला हो जहाँ चलचित्रहरु राम्रो चल्ने गर्छन् । अब भने सिनेमाको बजारलाई अझ व्यवस्थित गर्न प्राविधिक पूर्वाधार निर्माणको बहस गर्नुपर्ने जरुरी देखिएको छ । किन भने अहिले दाङमा जति सिनेमा छायाँकन हुन्छन् पूर्वाधार बढेको खण्डमा चलचित्र छायाँकनको संख्यामा वृद्धि हुनेछ । चलचित्रको बजार दाङमा अझ बढ्नेछ र चलायमान हुनेछ ।

अब मूल विषय तर्फ लागौ । कुरा प्रदर्शनरत चलचित्रबाट सुरु गरौ । चलचित्र छायाँकनका अलावा अहिले नेपाली सिनेमा क्षेत्र श्रावण महिना देखि कार्तिक महिना सम्म दाङ जिल्लाले आफ्नो बसमा राख्ने निश्चित छ । तिजको अवसर पारी देशभर प्रदर्शन भईरहेको चलचित्र ‘माग्ने राजा’लाई दाङकै निर्माता मुनाल घिमिरेले निर्माण गरेका छन भने निर्देशन सल्यानका ऋषी लामिछानेले गरेका छन । निर्माता मुनाल घिमिरेले यस अघि श्रीमान् श्रीमती¸आफ्नो मान्छै आफ्नै हुन्छ जस्ता थुप्रै नेपाली चलचित्र निर्माण गरिसकेका छन् । देशभर चलिरहेको चलचित्र कोशेढुंगाको निर्देशन प्यूठानमा जन्मिएका र दाङमा बस्दै आएका सरोज पौडेलले गरेका छन । यस अघि उनले नेपालकै इतिहास व्रेक चलचित्र पूर्ण बहादुरको सारंगी समेत निर्देशन गरेका थिए । यस्तै दशैको फूलपातीमा रिलिज हुन लागेका चलचित्र मध्ये चलचित्र ‘माईतीघर’ पनि दाङकै निर्माता रोहित अधिकारीले निर्माण गरेको चलचित्र हो । रोहित नेपाली चलचित्र उद्योगका सफल एवं स्थापित निर्माताका रुपमा चिनिन्छन् । उनले यस अघि फर्की फर्की¸छ माया छपक्कै¸गाजलु जस्ता चर्चित चलचित्रको निर्माण गरिसकेका छन् । यस्तै चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ जुन चलचित्रको निर्माणमा दाङका दिपक भण्डारीले समेत सहकार्य गरेका छन । चलचित्र तिहारमा लाग्दै छ । प्रदर्शनरत अर्को सफल चलचित्र ‘मोहर’ पनि दाङकै नायक पल शाह र नायिका नीति शाहको अभिनयमा रोल्पाका ओम प्रतिकले निर्देशन गरेको चलचित्र हो ।

यसरी हेर्दा नेपालीहरूको मुख्य चाडपर्वहरु तिज, दशै अनि तिहारमा दाङ जिल्लाकै सिनेकर्मीहरूले निर्माण तथा अभिनय गरेका फिल्म लाग्दैछन । नेपालीहरुको मुख्य मुख्य चाडपर्वमा दाङका व्यक्ती जोडिएको सिनेमा लाग्नु भनेको नेपाली सिनेमा क्षेत्रमा दाङको दबदबा बलियो भएको सन्देश पनि हो । यो दाङ जिल्लाका लागि निकै खुशीको कुरा हो । एक हिसाबले दाङले नेपाली सिने क्षेत्रमा आफ्नो राम्रो हिस्सा जमाएको सन्देश पनि हो ।

दाङ जिल्लालाई प्रतिनिधित्व गर्दै कलाकारहरु कोमल वली¸ झरणा थापा¸ अर्जुन श्रेष्ठ¸ पल शाह¸ आकाश श्रेष्ठ¸ नीति शाह¸ सागर खनाल, हरिहर अधिकारी, निर्देशक ऋषीराज लामिछाने¸ वसन्त लम्साल दाङ (फिल्म कर्मा निर्माता )¸ संगीतकार सन्तोष श्रेष्ठ¸ गितकार लोकराज अधिकारी, गायक तथा संगीतकार गोबिन्द मधुर आचार्य, नायक विशाल पोखरेल, कमल गाउँले¸ के.एल पिडित लगायतका कलाकार वर्तमान समयका नेपाली सिनेमा क्षेत्रका चर्चित एंव महत्वपूर्ण अनुहारहरु हुन् । उल्लेख गरिएका नामहरुले अहिले नेपाली चलचित्रको बजारलाई सक्रिय बनाउन भूमिका खेलेका छन् । यि नामहरु प्रतिनिधिमूलक नामहरु हुन् । नेपाली सिनेमा क्षेत्रका अलावा गीत संगितको क्षेत्रमा दाङबाट सक्रिय र चर्चित पात्रहरुको प्रतिनिधित्व गर्ने जमात ठुलै छ ।

यसरी हेर्दा नेपाली सिनेमा क्षेत्रमा दाङको बलियो उदय भएको छ । दाङ जिल्ला भौगोलिक तथा कलात्मक हिसावले अव्वल स्थानका रुपमा रहेकाले पनि यहाँ चलचित्र सिटी¸प्राविधिक पूर्वाधार¸ लगायतको उचित व्यवस्था भए अझ सुन्दर कला नगरीको रुपमा विकास गर्न सकिने प्रसस्तै आधारहरु रहेका छन् ।

लेखक चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य हुन् ।