नेपाली चलचित्र उद्योगमा दाङको उदय
ध्रुव राज न्यौपाने (डि.आर.एन.)
चलचित्र निर्माण देखि प्रदर्शन सम्म दाङको अब्बल भूमिका
पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा दाङ जिल्लाले आफ्नो बलियो विरासत कायम गरेको छ । नेपाली चलचित्र उद्योगमा दाङको लोभलाग्दो उदय भएको छ । चलचित्र निर्माण¸ निर्देशन देखि लिएर चलचित्रमा अभिनय गर्ने कलाकार सहित प्रदर्शनका गतिविधिसम्म दाङ जिल्ला अहिले अग्रणी स्थानमा देखा परेको छ । दाङका कलाकारहरुको संख्यामा वृद्धि भएको छ भने दाङकै व्यक्तीहरुले चलचित्र निर्माण सहित निर्देशन सम्मका गतिविधिमा आफूलाई दरिलो ढंगले उभ्याएका छन् ।
चलचित्र प्रदर्शनका हिसावले समेत दाङ जिल्ला अहिले नेपालकै उच्च स्थानमा रहेको छ । केहि वर्ष अघि दाङ जिल्ला कला नगरीका रुपमा केहि पछाडि परेको जस्तो भान हुने गर्थ्यो । चलचित्र क्षेत्रमा पछाडि परेको दाङ जिल्लालाई चलचित्र नगरीका रुपमा विकास गर्नका निमित्त र नेपाली सिनेमा क्षेत्रमा दाङ जिल्लाको बलियो पकड बनाउन दाङका क्रियाशिल विभिन्न संघ संस्थाहरुले महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् । विशेषत चलचित्र पत्रकार संघ नेपालको दाङ शाखाले दाङ जिल्लामा चलचित्रका गतिविधिहरुलाई सक्रिय बनाउदै आएको छ । दाङ जिल्लालाई छायाँकन स्थलको हब बनाउन थुप्रै कार्यक्रमहरु सम्पन्न भएका छन् । वर्तमान समयमा हेर्दा दाङमा अब छाँयाकनको बहसले सार्थकता पाईसकेको छ । नेपाली सिनेमाको छायाँकनका हिसावले पनि दाङ अहिले रोजाईको जिल्लाका रुपमा पर्दैछ । सिनेमा प्रदर्शनका हिसावले दाङ जिल्ला फिल्मकर्मीहरुका लागि रोजाईको जिल्ला हो जहाँ चलचित्रहरु राम्रो चल्ने गर्छन् । अब भने सिनेमाको बजारलाई अझ व्यवस्थित गर्न प्राविधिक पूर्वाधार निर्माणको बहस गर्नुपर्ने जरुरी देखिएको छ । किन भने अहिले दाङमा जति सिनेमा छायाँकन हुन्छन् पूर्वाधार बढेको खण्डमा चलचित्र छायाँकनको संख्यामा वृद्धि हुनेछ । चलचित्रको बजार दाङमा अझ बढ्नेछ र चलायमान हुनेछ ।
अब मूल विषय तर्फ लागौ । कुरा प्रदर्शनरत चलचित्रबाट सुरु गरौ । चलचित्र छायाँकनका अलावा अहिले नेपाली सिनेमा क्षेत्र श्रावण महिना देखि कार्तिक महिना सम्म दाङ जिल्लाले आफ्नो बसमा राख्ने निश्चित छ । तिजको अवसर पारी देशभर प्रदर्शन भईरहेको चलचित्र ‘माग्ने राजा’लाई दाङकै निर्माता मुनाल घिमिरेले निर्माण गरेका छन भने निर्देशन सल्यानका ऋषी लामिछानेले गरेका छन । निर्माता मुनाल घिमिरेले यस अघि श्रीमान् श्रीमती¸आफ्नो मान्छै आफ्नै हुन्छ जस्ता थुप्रै नेपाली चलचित्र निर्माण गरिसकेका छन् । देशभर चलिरहेको चलचित्र कोशेढुंगाको निर्देशन प्यूठानमा जन्मिएका र दाङमा बस्दै आएका सरोज पौडेलले गरेका छन । यस अघि उनले नेपालकै इतिहास व्रेक चलचित्र पूर्ण बहादुरको सारंगी समेत निर्देशन गरेका थिए । यस्तै दशैको फूलपातीमा रिलिज हुन लागेका चलचित्र मध्ये चलचित्र ‘माईतीघर’ पनि दाङकै निर्माता रोहित अधिकारीले निर्माण गरेको चलचित्र हो । रोहित नेपाली चलचित्र उद्योगका सफल एवं स्थापित निर्माताका रुपमा चिनिन्छन् । उनले यस अघि फर्की फर्की¸छ माया छपक्कै¸गाजलु जस्ता चर्चित चलचित्रको निर्माण गरिसकेका छन् । यस्तै चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ जुन चलचित्रको निर्माणमा दाङका दिपक भण्डारीले समेत सहकार्य गरेका छन । चलचित्र तिहारमा लाग्दै छ । प्रदर्शनरत अर्को सफल चलचित्र ‘मोहर’ पनि दाङकै नायक पल शाह र नायिका नीति शाहको अभिनयमा रोल्पाका ओम प्रतिकले निर्देशन गरेको चलचित्र हो ।
यसरी हेर्दा नेपालीहरूको मुख्य चाडपर्वहरु तिज, दशै अनि तिहारमा दाङ जिल्लाकै सिनेकर्मीहरूले निर्माण तथा अभिनय गरेका फिल्म लाग्दैछन । नेपालीहरुको मुख्य मुख्य चाडपर्वमा दाङका व्यक्ती जोडिएको सिनेमा लाग्नु भनेको नेपाली सिनेमा क्षेत्रमा दाङको दबदबा बलियो भएको सन्देश पनि हो । यो दाङ जिल्लाका लागि निकै खुशीको कुरा हो । एक हिसाबले दाङले नेपाली सिने क्षेत्रमा आफ्नो राम्रो हिस्सा जमाएको सन्देश पनि हो ।
दाङ जिल्लालाई प्रतिनिधित्व गर्दै कलाकारहरु कोमल वली¸ झरणा थापा¸ अर्जुन श्रेष्ठ¸ पल शाह¸ आकाश श्रेष्ठ¸ नीति शाह¸ सागर खनाल, हरिहर अधिकारी, निर्देशक ऋषीराज लामिछाने¸ वसन्त लम्साल दाङ (फिल्म कर्मा निर्माता )¸ संगीतकार सन्तोष श्रेष्ठ¸ गितकार लोकराज अधिकारी, गायक तथा संगीतकार गोबिन्द मधुर आचार्य, नायक विशाल पोखरेल, कमल गाउँले¸ के.एल पिडित लगायतका कलाकार वर्तमान समयका नेपाली सिनेमा क्षेत्रका चर्चित एंव महत्वपूर्ण अनुहारहरु हुन् । उल्लेख गरिएका नामहरुले अहिले नेपाली चलचित्रको बजारलाई सक्रिय बनाउन भूमिका खेलेका छन् । यि नामहरु प्रतिनिधिमूलक नामहरु हुन् । नेपाली सिनेमा क्षेत्रका अलावा गीत संगितको क्षेत्रमा दाङबाट सक्रिय र चर्चित पात्रहरुको प्रतिनिधित्व गर्ने जमात ठुलै छ ।
यसरी हेर्दा नेपाली सिनेमा क्षेत्रमा दाङको बलियो उदय भएको छ । दाङ जिल्ला भौगोलिक तथा कलात्मक हिसावले अव्वल स्थानका रुपमा रहेकाले पनि यहाँ चलचित्र सिटी¸प्राविधिक पूर्वाधार¸ लगायतको उचित व्यवस्था भए अझ सुन्दर कला नगरीको रुपमा विकास गर्न सकिने प्रसस्तै आधारहरु रहेका छन् ।
लेखक चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य हुन् ।







