‘सोल्टिनी’ को टिजरमा प्रेम र राई संस्कृतिको मिश्रण

आगामी कात्तिक ६ गते भाइटीकामा प्रदर्शन हुन लागेको फिल्म ‘सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बूबीचको अन्तरजातीय प्रेमलाई केन्द्रमा राखिएको टिजरमा राई समुदायको संस्कार र संस्कृतिलाई पनि प्रभावकारी रूपमा देखाइएको छ ।
टिजर हेर्दा फिल्मले दर्शकलाई प्रेम, चुनौती, र सांस्कृतिक पृष्ठभूमिबाट उत्पन्न द्वन्द्वको अनुभूति दिन खोजेको देखिन्छ । प्रकाश र परीक्षा सोल्टी–सोल्टिनीको भूमिकामा छन्, जो बच्चैदेखि एकअर्कालाई मन पराउँछन् । तर, उनीहरूको जातीय पृष्ठभूमि फरक भएका कारण सम्बन्धमा चुनौती उत्पन्न हुन्छ । फिल्ममा भावनात्मक पक्ष बलियो रहेको संकेत टिजरले दिएको छ ।
अर्जुन सुवेदीले निर्देशनमा तयार भएको फिल्ममा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतको अभिनय रहेको छ । प्लानेट थ्रीको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पारेका हुन् ।
यो फिल्मको कार्यकारी निर्मातामा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन् । रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ । फिल्मले जातीय भेदभावविरूद्ध सशक्त आवाज उठाउने जनाइएको छ ।