‘कस्तुरी’ मा निखिल उप्रेती र वर्षा सिवाकोटीले जोडी बाँध्ने

कार्तिक ०३, २०८२


कार्तिक २, निखिल उप्रेती र वर्षा सिवाकोटीलाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने भएको छ । आइतबार यसको औपचारिक घोषण भएको छ । कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रालिमार्फत विभिन्न उद्योग-व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धीरज अग्रवालले यो फिल्मबाट मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन् । निर्माताको रूपमा उनले टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन् ।

ऋत बोहोराको कथा र निर्देशन रहने यो फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो । उनका अनुसार यस फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिनेछ । फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराको भनाई छ । निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् । उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि कलाकारको रुपमा छन् ।

फिल्मलाई ब्रजेश खनालले लेखेका हुन् । सह- निर्मातामा अञ्जली चौधरी छिन् । छायांकन आलोक शुक्लाले गर्नेछन् र प्रमुख सह–निर्देशन ललित बिष्टले गर्नेछन् । संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुनेछ । निर्माण व्यवस्थापकमा दिलीप पन्त छन् । मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा छायांकन सुरु हुनेछ । डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन पनि छिट्टै टुंगो लगाइने निर्माण पक्षले जानकारी दिएको छ ।