चर्चित गायक प्रशान्त तामाङको निधन
नेपाली संगीत र चलचित्र क्षेत्र आज एक गहिरो शोकमा डुबेको छ। ‘इन्डियन आइडल’ जितेर नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएका गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीमाझ रहेनन्।
दिल्लीस्थित आफ्नै निवासमा आज उनको निधन भएको खबरले उनका प्रशंसक र सहकर्मीलाई स्तब्ध बनाएको छ। उनको निधनको जानकारी निकट चलचित्रकर्मी राजेश घतानीले दिएका हुन्।
स्वर र अभिनय दुवै क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका तामाङले गाएका थुप्रै नेपाली गीतहरू आज पनि दर्शक–श्रोताको मनमा जीवित छन्। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ जितेपछि उनी नेपाली युवाका लागि प्रेरणाको प्रतीक बनेका थिए।
संगीतसँगै अभिनयमा पनि हात हालेका तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउडमा डेब्यू गरेका थिए। छोटो तर प्रभावशाली यात्रामा उनले छोडेको छाप भने लामो समयसम्म सम्झिइनेछ। उनको असामयिक निधनले नेपाली कला क्षेत्रले एक उज्यालो प्रतिभा गुमाएको छ।






