BREAKING: गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले पक्षमा निर्णय दिएका छन् ।
सगुनशमशेर राणाले फरक मत राखेका आयोग उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो ।
विशेष महाधिवेशनबाट भएको निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।
पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए ।
त्यसपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा बोलाएको थियो ।
कांग्रेसका दुवै पक्षको दाबीपछि आयोगले गगन पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो । गगन पक्षले मान्यता पाएपछि अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि उनीहरूकै हुने भएको छ ।






