क्षेत्रीय सचिवमा बिमल गौतमको उम्मेदवारी

१० घण्टा अगाडि


असाेज १२, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव पदका लागि बिमल गौतमले उम्मेदवारी दर्ता गरेका छन् । पत्रकारिता, शिक्षा तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय गौतमले आफ्नो अनुभवलाई पार्टी संगठन सुदृढीकरण र कार्यकर्तामाझको समन्वयमा उपयोग गर्ने बताएका छन् ।

करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गौतम सञ्चारसँगै शिक्षा र व्यवसायिक क्षेत्रमा समेत आबद्ध छन् । नेसनल प्याप्सन जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य, नेविसंघको क्षेत्रीय सदस्य, नेपाल प्रेस युनियनको केन्द्रीय पार्षद र तुल्सीपुर उद्योग वाणिज्य सङ्घका सदस्य रहेर काम गरेको अनुभव रहेको छ ।

गौतमले पत्रकारिता, शिक्षा र व्यवसायबाट हासिल गरेको अनुभवलाई राजनीतिक तथा सांगठनिक क्षेत्रमा जोड्दै पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउने लक्ष्यसहित क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिएको बताएका छन् ।

क्षेत्रीय सचिवको जिम्मेवारी संगठनको आन्तरिक समन्वय, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने भूमिकासँग जोडिने भएकाले आफ्नो अनुभवलाई त्यसैअनुसार प्रयोग गर्ने उनको भनाइ छ ।