चलचित्र ‘ऊनको स्वीटर’ को सिक्वेल ‘कलेजी’ को छायाङ्कन सुरु
गत वर्ष रिलिज भएको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेलका रूपमा निर्माण हुन लागेको चलचित्र ‘कलेजी, ऊनको स्वीटर’ को छायाङ्कन सुरु भएको छ । निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट चलचित्रको छायाङ्कन शुभारम्भ गरेका हुन् ।
निर्देशक चौहानले चलचित्रको छायाङ्कन सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त सम्पन्न गरी छायाङ्कन सुरु गरिएको हो । सोमबार छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको उनले बताएका छन् ।
छायाङ्कनको शुभारम्भ अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो। निर्देशक चौहानले उक्त अवसरमा प्राप्त साथ र आशीर्वादप्रति आभार व्यक्त गरेका छन् ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ ।







