दिव्य कुञ्ज स्काउट दलको तीनदिने आवासीय क्याम्प सुरु, ४६ स्काउटर सहभागी

२३ घण्टा अगाडि


तुलसीपुर, १४ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित दिव्य कुञ्ज एकेडेमीमा सञ्चालित दिव्य कुञ्ज स्काउट दलको आयोजनामा तीनदिने आवासीय स्काउट क्याम्प (क्लोज्ड क्याम्प) सुरु भएको छ ।

दिव्य कुञ्ज स्काउट दलका संरक्षक तथा विद्यालयका प्रिन्सिपल कुलानन्द अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसी प्रमुख आतित्यता एवं नेपाल स्काउट राष्ट्रिय परिषद्का सदस्य नवीन पराजुली र दिव्य कुञ्ज एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको छ ।

कात्तिक १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने क्याम्पमा ४६ जना स्काउटरहरूको सहभागिता रहेको छ । विद्यार्थीहरूमा अनुशासन, आत्मनिर्भरता, नेतृत्व क्षमता, सामूहिक भावना र सेवाभाव विकास गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने क्याम्पमा स्काउटसम्बन्धी विभिन्न सीपमूलक, सिर्जनात्मक, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरू सञ्चालन गरिनेछ । साथै, सामूहिक जीवनशैली, आपसी सहयोग, जिम्मेवारीबोध तथा विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप सम्बन्धी ज्ञान प्रदान गरिनेछ ।

स्काउट गतिविधिले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक जीवनमा आवश्यक पर्ने सीप, सकारात्मक सोच र नेतृत्व क्षमताको विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । क्याम्पले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, सहयोगी भावना र सेवामार्फत समाजमा योगदान पुर्‍याउने संस्कार विकास गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

दिव्य कुञ्ज एकेडेमी, तुलसीपुर-७, दाङले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप तथा अनुभवमा आधारित सिकाइलाई पनि महत्त्व दिँदै आएको छ । विद्यालयले सञ्चालन गर्दै आएका यस्ता गतिविधिले विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नेतृत्व विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।