मिटरब्याज समस्या समाधानका लागि आयोगसँगै संयन्त्र बनाउने सरकारको तयारी

चैत १९, २०७९


चैत १९, मिटरब्याज समस्या समाधानका लागि सरकारले आयोगसँगै संयन्त्र पनि बनाउने तयारी गरेको छ । आइतबार मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति बारे संसदलाई जानकारी गराउँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज समस्या समाधानका लागि आयोगसँगै संयन्त्र पनि बनाउने सरकारको तयारी रहेको जानकारी गराए ।

गृहमन्त्री श्रेष्ठका अनुसार संयन्त्रमा हरेक जिल्लाका जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मालपोत, नापी कार्यालय र मिटरब्याज पीडिहरूको पनि प्रतिनिधित्व हुनेछ । संयन्त्रले आयोगलाई सहयोग गर्नेछ । आयोगले काम सकाएपनि भविष्यमा फेरि त्यस्तै समस्या देखापरेको खण्डमा समाधानको पहल लिन सक्ने गरी संयन्त्र बनाइने गृहमन्त्री श्रेष्ठले बताए । गृहमन्त्री श्रेष्ठले सरकारले बनाउन लागेको आयोगले पनि अमूर्त प्रतिवेदन बनाउने नभई फिल्डमै गएर घटनाको वास्तविकता बुझ्ने र कारबाहीको सिफारिस गर्ने जानकारी गराए ।

यहाँ बसेर मिटरब्याजीको समस्या के हो, यसलाई कसरी समाधान गर्न सकिन्छ, भनेर अमूर्त प्रतिवेदन दिने होइन । यो आयोग फिल्डमा जान्छ, अध्ययन गर्छ उजुरी लिन्छ, त्यसको छानविन गर्छ । ठिक बेठिक कहाँ के छ र कारबाहीको सिफारिस गर्छ, उनले भने । गृहममन्त्री श्रेष्ठले मिटरब्याज सम्बन्धी समस्या समाधान गठित कार्यदलले बुझाएको प्रतिवेदननले सिफारिस गरेअनुसार सरकारले कानुन संसोधन गर्न लागेको पनि जानकारी गराए ।

शोषणको अत्यन्तै भद्दा र विकृत रूपलाई हामीले जसरी पनि अनत्य गर्ने र पीडितहरूलाई हरहालतमा त्यसबाट मुक्त गर्ने र न्याय दिने सरकारको प्रतिबद्धता अनुसार नै पीडितहरूसँग पाँच बुँदे सहमति गरिएको हो, गृहमन्त्री श्रेष्ठले भने । गृहमन्त्रीले पीडितसँग गरिएको सहमति कार्यान्वयका लागि सबै सांसदहरूबाट महत्वपूर्ण सहयोग रहने विश्वास पनि व्यक्त गरे ।