बैठक सुरु हुनासाथै सांसदहरूले बोल्न समय मागेपछि सभामुखलाई सम्झाउन सकस

बैशाख २४, २०८०


बैशाख २४, प्रतिनिधि सभाको बैठकको सुरुमै विभिन्न दलका सांसदहरूले बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेलाई सांसदहरूलाई सम्झाउन कठिन परेको छ । प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भएलगतै विभिन्न दलका सांसदहरूले उठेर आकस्मिक समय मागेपछि सभामुख घिमिरेले झन्डै ५ मिनेट सांसदहरूलाई सम्झाउनु परेको थियो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, सांसद रघुजी पन्त, नेमकिपा सांसद प्रेम सुवाल, स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सभामुखसँग बोल्नका लागि आकस्मिक समय मागेका थिए । सभामुखले बैठक सुरु हुन दिनुस् त्यसपछि म बोल्न दिन्छु भनेर सम्झाउँदा पनि सांसदहरूले बोल्न समय मागिरहे । सभामुखले निरन्तर आग्रह गरेपछि सांसदहरु आफ्नो आशनमा बसे ।

त्यसपछि सभामुखले संसद्को दोस्रो अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाएका छन् । सभामुखले आकस्मिक समयमा बोल्न दिएपछि नेमकिपा सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा, बालकृष्ण खाण, आरजु राणा जोडिएको बताउँदै छानबिनको माग गरेका छन् ।