शिव,निखिलदेखि अनमोल विजयसम्म व्यस्त ?

चैत ०८, २०८२     कुवेर गिरी


काठमाडौँ । नेपाली फिल्म उद्योग यतिबेला निकै चलायमान देखिएको छ । आधा दर्जनभन्दा बढी फिल्म अहिले छायाङ्कनमा छन् भने त्यतिकै सङ्ख्यामा निर्माणको तयारीमा छन् । पोस्ट प्रोडक्सन र प्रि–प्रोडक्सनमा रहेका फिल्महरूको सङ्ख्या पनि उल्लेख्य छ । यसरी सुटिङदेखि पोस्ट प्रोडक्सनका विभिन्न चरणमा धेरै फिल्म रहँदा कलाकारदेखि प्राविधिकसम्म व्यस्त हुनु स्वाभाविकै हो ।

नेपाली फिल्मका नायकहरूको कुरा गर्दा, पुराना एक्सन स्टार शिव श्रेष्ठनिखिल उप्रेतीदेखि पछिल्लो पुस्ताका विजय बरालसम्म अहिले सबै व्यस्त छन् । फरक यतिमात्र हो कि, कोही नायक चितवनको गर्मीमा एक्सन कटमा पसिना बगाइरहेका छन् भने कोही पोखराका ग्रामीण बस्तीमा क्यामेरा अगाडि दृश्यहरू दिँदैछन् । कोही डबिङ स्टुडियोमा व्यस्त छन् भने कोही फिल्मको सुटिङ पूर्वको तयारीमार्फत आफूलाई परिष्कृत गर्दै छन् ।

लभर ब्वाईको छवि बनाएका अभिनेता प्रदीप खड्का अहिले चितवनको गर्मीमा ‘ऐरी’ फिल्मको छायाङ्कनमा पसिना बगाइरहेका छन् । करिब एक वर्षदेखि छायाङ्कनमा रहेको यस फिल्मका लागि उनले अझै ४० दिन चितवनमै बिताउनेछन् । त्यसलगत्तै उनी सुदर्शन थापा निर्देशित ‘शुभ विवाह’को सेटमा जोडिनेछन्, जुन फिल्म अहिले प्रि–प्रोडक्सनको चरणमा छ । प्रदीपको केही समयअघि मात्र ‘एक्लो’ फिल्म रिलिज भएको थियो, जसबाट उनका दर्शक पूर्ण सन्तुष्ट हुन सकेनन् । तर, दर्शकले अपेक्षा गरेजस्तै फिल्म छायाङ्कनमा रहेको ‘ऐरी’ हुने उनी बताउँछन् । ‘शुभ विवाह’ को छायांकनपछि भने उनी लेखक विकास सुवेदीले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘२६ करोड’को काममा जुट्नेछन् ।

चरित्र अभिनेताबाट मुख्य भूमिकामा स्थापित हुन सफल विजय बराल हाल पोखराको अर्मलाकोटमा फिल्म ‘जिरो डिग्री’को सुटिङमा व्यस्त छन् । विदेशमा रहेका सन्तान नआएसम्म आमाबुवाको शवलाई ‘डिप फ्रिज’मा राख्नुपर्ने एउटा मार्मिक र रोचक कथामा आधारित यस फिल्ममा विजयको अपोजिटमा सनिशा भट्टराई छिन् । अबको ३० दिन यसै फिल्मको सुटिङमा दिने उनले त्यसपछि आफ्नो समय प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मालती मंगले’लाई दिनेछन् ।

‘जिरो डिग्री’को छायाङ्कन सकिँदा ‘मालती मंगले’को प्रचारप्रसार गर्ने समय हुनेछ,’ बरालले भने, ‘त्यसपछि ‘सिन्दुरे जात्रा’को तालिका सुरु हुन्छ । त्यसको छायाङ्कनमा जुट्नेछु ।’ केही फिल्मका प्रस्तावहरू अझै पनि आइरहेकाले ‘सिन्दुरे जात्रा’पछि पनि आफू व्यस्त रहने उनले बताए । विजयको ‘पूर्णबहादुरको सारङ्गी’ फिल्म हिट भएपछि मुख्य नायकका रूपमा उनको व्यस्तता बढेको हो ।

बहुमुखी अभिनेता विपिन कार्की पनि अहिले व्यस्त छन् । उनको डबिङ र छायाङ्कन गरी दुई फिल्मको तालिका एकैसाथ चलिरहेको छ । वैशाख १ मा रिलिज हुने तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को डबिङ चलिरहेको छ भने उनी फिल्म ‘काजी’को सुटिङमा पनि व्यस्त छन् । ‘काजी’को बाँकी छायाङ्कन सकाएपछि आफूले ‘पहाड’को प्रदर्शनका लागि प्रचारप्रसारमा समय दिने विपिनले बताए ।

अनमोल केसी विगत एक वर्षदेखि आफ्नो होम प्रोडक्सनको फिल्म ‘बाटुलो जुन’को छायाङ्कनमा व्यस्त छन् । उनका पिता भुवन केसी निर्देशित यो फिल्मको निर्माता जिया केसी हुन् । यस फिल्मको काम सकाएपछि उनी हिट फिल्म ‘ए मेरो हजुर’को पाँचौँ शृङ्खला ‘ए मेरो हजुर ५’ को तयारीमा लाग्नेछन्, जसको छायाङ्कन वैशाखबाट सुरु हुने बताइएको छ ।

नेपालका पहिलो एक्सन स्टारका रूपमा परिचित शिव श्रेष्ठ फिल्म ‘टेम्के’को छायाङ्कन तयारीमा छन् । केही दिनमै छायाङ्कन सुरु हुने यस फिल्मको हालै राजधानीमा एक कार्यक्रमका बीच शुभमुहूर्त भएको थियो । देवप्रसाद धिमालको निर्देशनमा बन्ने यो फिल्मपछि श्रेष्ठ अर्को एक फिल्ममा व्यस्त हुनेछन्, जसको नाम जुर्न बाँकी छ ।

लामो समयपछि पर्दामा देखिन लागेका एक्सन स्टार निखिल उप्रेती काठमाडौंमा ‘कस्तुरी’ फिल्मको छायाङ्कनमा व्यस्त छन् । वर्षा सिवाकोटी र निशा अधिकारीसँगै निखिल यस फिल्मको पर्दामा देखिनेछन् । ‘कस्तुरी’पछि उनी कृष्षा चौलागाईको निर्देशनमा बन्ने ‘पारस’को छायाङ्कनमा जुट्नेछन् । निखिलकै निर्माण, निर्देशन र अभिनय रहेको फिल्म ‘आचार्य’ अहिले पोस्टप्रोडक्सनमा छ । ‘कस्तुरी’ र ‘पारस’को छायांकनका अलावा ‘आचार्य’को डबिङ र प्रदर्शनमा पनि अब आफूले समय दिने निखिलले बताए ।

त्यस्तै, अभिनेता नरेन खड्का पनि फिल्मका लागि आफ्नो शरीर बनाउन र वर्कसपमा व्यस्त छन् । नाम गोप्य राखिएको एक एक्सन फिल्मको अभिनय तयारीमा उनी छन् । ‘एक कार्यक्रममार्फत नाम र टिम सार्वजनिक गर्ने भनिएकाले अहिले सबै कुरा बताउन सक्दिनँ,’ खड्काले भने, ‘छिट्टै थाहा पाउनुहुनेछ ।’

अभिनेता जितु नेपाल झापाको काँकडभिट्टामा अहिले फिल्म ‘पाँच पाण्डव’को सुटिङमा व्यस्त छन् । बसन्त निरौला निर्देशित यो सामाजिक ड्रामामा जितुका अलावा आर्यन सिग्देल, हरिवंश आचार्य र महेश त्रिपाठी पनि व्यस्त छन् । केही दिनअघि ‘कार्की साइँला’ को सुटिङ सकाएर उनले यस फिल्मको छायाङ्कन सुरु गरेका हुन् । ‘पाँच पाण्डव’को सुटिङपछि उनी आफ्नो निर्माणमा बनेको फिल्म ‘आइ एम जीत बहादुर’लाई समय दिनेछन् । यो फिल्म छायाङ्कन सकिएर अहिले पोस्टप्रोडक्सनमा छ । सुभेन्दु घोषको कथा तथा निर्देशन रहेको यस फिल्मको डबिङ, प्रचारप्रसार र प्रदर्शनमा उनले समय दिनुपर्नेछ । ३२ वर्षको कलाकारिता यात्रामा उनी ‘आइ एम जीत बहादुर’मार्फत पहिलो पटक फिल्म निर्माता बनेका हुन् ।

अभिनेता नाजिर हुसेनगौरव पहारी भने फिल्म ‘मुक्तिपुर’को छायाङ्कनमा व्यस्त छन् । सुनिल पाण्डेको निर्देशनमा बन्ने यो फिल्म ‘फिल्मस् प्रोडक्सन’को ब्यानर र ‘एभरेस्ट फिल्म एकेडेमी’को सहकार्यमा निर्माण भइरहेको छ । केही दिनअघि ४० दिनको छायाङ्कन तालिका सहित फ्लोरमा गएको यो फिल्म क्राइम रिभेन्ज जनराको हुनेछ ।

‘छक्का पन्जा’को पाँच शृङ्खलासम्म निर्माण र अभिनय गरेका अभिनेता दीपकराज गिरी ‘छ माया छपक्कै’को दोस्रो शृङ्खला ‘छ माया छपक्कै २’ फ्लोरमा लैजाने तयारीमा छन् । सन् २०१९ को हिट फिल्म ‘छ माया छपक्कै’को दोस्रो शृङ्खलाको केही समयअघि घोषणा गरिएको हो । चैतको पहिलो सातादेखि छायाङ्कन सुरु हुने केही समयअघि भनिएको यस फिल्मको छिट्टै छायाङ्कन सुरु हुने बताइएको छ ।

अभिनेता दयाहाङ राई, सौगात मल्ल, मुकुन भुसाल लगायतका कलाकार पनि अहिले फिल्मकै काममा व्यस्त रहँदा अभिनेता सबिन श्रेष्ठ भने कलाकार संघको नेतृत्वका लागि प्रतिस्पर्धा गर्न व्यस्त छन् । २८ गते हुने २० औँ महाधिवेशनमा उनी अध्यक्ष पदका लागि बलियो दाबेदारका रूपमा प्रस्तुत भएका छन् । उनी रवीन्द्र खड्का र उत्तम केसीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन् । फिल्मको कुरा गर्दा, उनले केही समयअघि ‘बाघचाल’ निर्माण गर्ने घोषणा गरेका थिए ।