पश्चिम नेपालका शैक्षिक धरोहर सुरेन्द्र जी.सी. शिक्षा समिति सदस्यमा मनोनित

५ घण्टा अगाडि


तुलसीपुर, दाङ असार ८, लामो समयदेखि पश्चिम नेपालको शिक्षा क्षेत्रमा क्रियाशील रहँदै शैक्षिक धरोहरका रूपमा परिचित ज्ञान ज्योति फाउन्डेसनका सीइओ तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल सुरेन्द्र जी.सी. तुलसीपुर उपमहानगरपालिकाको नगर शिक्षा समिति सदस्य पदमा मनोनित हुनुभएको छ ।

तुल्सीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले २०८३ जेठ १८ गते मनोनीत गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा ऐन २०७५ को परिच्छेद ४ को दफा १८ बमोजिम जी.सी.लाई सदस्य पदमा मनोनित गरिएको हो ।

शैक्षिक प्रशासन र व्यवस्थापनमा तीन दशकभन्दा लामो अनुभव सँगालेका जी.सी.को नेतृत्वमा सञ्चालन हुँदै आएको ज्ञानज्योति फाउन्डेसन पश्चिम नेपालमै उत्कृष्ट संस्थाको रुपमा सम्मानित तथा पुरस्कृत हुँदै आएको छ ।

तुलसीपुर नगर शिक्षाले दिएको जिम्मेवारी प्रचलित कानुन बमोजिम शिक्षालाई परिवर्तन र परिमार्जित गर्दै अगाडि बढ्ने जिसीले बताउनुभयो ।

शिक्षा क्षेत्रमा लामो अनुभव र स्पष्ट दृष्टिकोण भएका जी.सी.को मनोनयनले तुलसीपुरको समग्र शैक्षिक नीति निर्माण र गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।