आउँदा दिनमा अमेरिकामा धेरैको मृत्यु हुनसक्छः राष्ट्रपति ट्रम्प

चैत २३, २०७६


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदा दिनमा अमेरिकामा धेरैको मृत्यु हुनसक्ने बताएका छन्।

कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले शनिबार ह्वाइटहाउसमा भनेका छन्, ‘आउँदा दिनमा धेरैको मृत्यु हुन सक्छ।’

ब्रिफिङ्गको क्रममा उनले अबको दुई हप्ता कोरोना भाइरसका कारण उत्पन्न संकटको विकराल रुप आउन सक्ने र त्यसबाट धेरैको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन्। तर संक्रमण रोक्ने र फैलिन नदिने उपायहरु अपनाइएमा संकटको स्तरलाई कम गर्न सकिने उनले बताएका छन्।

उनले भनेका छन्, ‘शायद यो हप्ता र आउँदो हप्ताबिचको समय कोरोना भाइरस महमारीको सबैभन्दा कठीन समय हुनेछ । दुर्भाग्य, यो अवधिमा धेरैको मृत्यु हुन सक्छ। सावधानी अपनाइएमा मृत्युको संख्या केही कम हुन सक्छ, तर मृत्यु निश्चित छ।’

ह्वाइस आउस कोरोना भाइरस रेस्पोन्स कोअडिनेटर डा. डेबरो बक्सले चेतावनी दिँदै भने, ‘यो समय ग्रोसरी स्टोर, फार्मेसी वा अरु कामका लागि बाहिर निस्कने बेला होइन।’

अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म ८ हजार ४४४ जनाको मृत्यु भएको छ । शनिबार मात्रै १ हजार २२४ को ज्यान गएको छ भने संक्रमितको संख्या ३ लाख १० हजार नाघिसकेको बीबीसीले जनाएकाे छ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा अहिलेसम्म ३ हजार ५६५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १ लाख १३ हजार ७०० पुगेको छ। जुन इटालीमा भएको संक्रमितहरुको संख्या बराबर हुन आउँछ।