कोरोना प्रकोपमा ह्याकरको बिगबिगी, विश्वभरका वैज्ञानिक एकजुट

चैत २२, २०७६


विश्व अहिले कोरोना भाइरसको महामारीबाट प्रताडित छ । कोरोना संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् । संकटका बीचमा ह्याकरहरू एकाएक सक्रिय भएसँगै ह्याकरविरुद्धको लडाइँमा विश्वका साइबर वैज्ञानिकहरू पनि एकजुट भएका छन् । विश्वका साइबर सुरक्षासम्बन्धी करिब चार सय जना स्वयंसेवी विज्ञहरूले सहकार्य सुरु गरेका हुन् । साइबर सेक्युरिटी विशेषज्ञहरूले बुधबार नोबल कोरोना भाइरससँग सम्बन्धी ह्याकिङविरुद्ध लड्नका लागि एउटा समूह बनाएका छन् । कोभिड-१९ लिग नामक उक्त ग्रुपमा विश्वका ४० देशका स्वयंसेवी वैज्ञानिकहरू सामेल छन् । जसमा माइक्रोसफ्ट तथा अमेजनजस्ता ठूला कम्पनीका वरिष्ठ पदहरूमा काम गरिरहेका विज्ञहरू समेत छन् ।
एजेन्सीको सहयोगमा