जोखिम कम भएका ठाउँमा बजार खोल्न र जोर-बिजोर प्रणालीमा गाडी चल्न दिने

जेठ २९, २०७७


२९ जेठ,  सरकारले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको छ । लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको भन्दै एक मन्त्रीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र खुकुलो गर्ने निर्णय भएको बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय गरेको हो । यस्तै काठमाण्डौ उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर बिजोर प्रणाली लागू गरेर ट्याक्सी र मोटरसाइकललगायत निजी गाडी चलाइने भएको छ । विद्यालय, सिनेमा हललगायतका धेरै भिडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् ।

मन्त्रिपरिषद् बैठकको विस्तृत जानकारी भोलि दिइने एक मन्त्रीले बताए । सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्चस्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको छ । बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय गरेको बताएको छ । बैठकले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।